नेपालमा कुनै पनि उत्पादन वा उपभोग्य सामग्रीको प्रवद्र्धन गर्न ब्राण्ड एम्बेसडर नियुक्ति गर्ने चलन पुरानै हो । तर अहिलेसम्म खाना पकाउने एलपी ग्यास प्रवद्र्धनका लागि ब्राण्ड एम्बेसडर नियुक्ति गर्ने अभ्यास भएकै थिएन । यो रेकर्डलाई तोड्दै एसजी ग्रुपले एलपी ग्यास प्रवद्र्धनका लागि ग्यास उद्योग क्षेत्रमै पहिलो पटक ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
एसजी ग्रुपले स्थापित एवं ख्यातीप्राप्त कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई खाना पकाउने एलपी ग्यास प्रवद्र्धनका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार एलपी ग्यास प्रयोगका बारेमा उपभोक्तालाई सचेतना बढाउन राष्ट्रियस्तरका कलाकारलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको हो । उनले भने– ‘ब्राण्ड एम्बेसडरले एसजी ग्रुप अन्तर्गतका ग्यास कम्पनीको बारेमा प्रचार गर्नुका साथै ग्यास प्रयोगबाट दुर्घटना न्यूनीकरण हुने गरी सचेतनामूलक कार्यक्रम संचालन गरी आम उपभोक्तामा जागरण पैदा गर्न सहयोग पुर्याउनेछन् ।’
एसजी ग्रुप अन्तर्गत सुनसरीमा प्रिमा र कामख्य ग्यास, मकवानपुरमा सहारा ग्यास, काठमाडौंमा एभरेस्ट ग्यास, धादिङमा सुगम ग्यास, भैरहवामा त्रिशूल ग्यास र धनगढीमा सैपाल ग्यास उद्योग संचालनमा छन् ।
घिमिरेका अनुसार हाल २० लाख ग्यास सिलिन्डर बजारमा छन् भने ७ लाख भन्दा बढी नियमित उपभोक्ता रहेका छन् । उपभोक्ताहरुले नियमित ग्यास प्रयोग गरिरहे पनि विविध कारण दुर्घटना बढ्न थालेका कारण सचेतना फैलाउन आवश्यक देखेर ब्राण्ड एम्बेसडर नियुक्त गरिएको घिमिरेले जानकारी दिए ।