चितवनमा जारी नेकपा एमालेको दशौँ महाधिवेशनबाट अध्यक्षका रूपमा केपी शर्मा ओली नै दोहोरिने पक्कापक्की छ । निर्वाचन भएपनि या नभएपनि ओली स्वतः अध्यक्ष बन्नेछन् । पार्टीको कुनै पनि पदाधिकारीमा २ पटक भन्दा बढी उम्मेदवारी दिन नपाइने विधानलाई गत शुक्रवार रातारात संशोधन गरेर ओलीले आफ्ना लागि अध्यक्ष पद सुरक्षित गरिसकेका छन् ।
तर ओली निर्विकल्प र चुनौतीरहित अध्यक्ष बन्न चाहन्छन् । उनलाई भीम रावलको चुनौती मन परेको छैन । रावलले केही दिन अघि आफू अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । उम्मेद्वारीबाट कुनै हालतमा पछि नहट्ने अडान लिएका रावलनिकट कार्यकर्ताहरूले बाँडेको पर्चा पनि खोसिएको छ र उनीहरूलाई गेटबाहिर पठाइएको छ ।
‘निर्वाचन भए पनि जित्ने ओलीले नै हो,’ रावलको पर्चा बाँडिरहेका एक कार्यकर्ताले भने, ‘निर्वाचन गराइदिए ओलीको के जान्छ र ?’
ओलीको यो रवैयाले नेकपा एमालेको आन्तरिक लोकतन्त्र कति निरिह र कमजोर रहेछ भन्ने पुष्टि हुन्छ । ओली चुनौतीबिहीन ‘राजा’ बन्न चाहन्छन् भन्ने प्रष्ट भएको छ । निर्वाचन भइहाले पनि रावलले अध्यक्षमा जित्ने आश गरेका छैनन् ।
ओलीनिकट नेताहरूले ध्वनीमतका आधारमा ओली सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरिरहेका छन् । गत शुक्रवार बसेको केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गरेर ओली उम्मेदवार बन्ने बाटो खोलेको थियो भने पदाधिकारी, केन्द्रीय सदस्य र अन्यमा ओली आफैंले नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई दिइएको थियो ।
उनले आज ३ सय १ जनाको केन्द्रीय कमिटी र पदाधिकारीको सूची बन्द सत्रमा पेश गर्ने कार्यक्रम रहेको छ । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले पेश गर्ने सूचीमा सबैले ताली पड्काएपछि नेतृत्व चयन हुने बताइरहेका छन् ।
आफ्नो प्रत्येक सार्वजनिक सम्बोधनमा लोकतन्त्रको सबैभन्दा बढी दुहाइ ओलीले नै दिने गरेका छन् । तर पार्टीभित्र आफ्नो आलोचना गर्नेहरूलाई साइड लगाउन ओलीले हदैसम्मको क्रियाकलाप अघि बढाएको ओलीइतर नेताहरूले आरोप लगाएका छन् ।
उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसाल र अध्यक्षका दाबेदार रावललाई कुनै पनि हालतमा पदाधिकारीमा ल्याउने पक्षमा ओली छैनन् । ओलीको यस्तो रणनीति बुझेका दुवै नेताहरूले आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने बताइरहेका छन् ।
यद्यपि नेतृत्वका लागि ओलीनिकट नेताहरू नै हानथापमा छन् । महासचिव पदका लागि शंकर पोखरेल र विष्णु पौडेल दुवैले आफ्नो दाबी पेश गरेका छन् । ओलीको चाहना शंकर पोखरेललाई महासचिवमा ल्याउने भए पनि नेकपाकालमा महासचिव भएका विष्णु पौडेलप्रति पनि ओली नकारात्मक देखिन्नन् ।
दुवै निर्वाचनकै मूडमा छन् । दुवै नेताबीच भएको छलफल पनि सकारात्मक देखिएन । ओलीलाई सबैभन्दा ठूलो सकस परेको भनेको महासचिव छनोटमै हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षका लागि ईश्वर पोखरेल र सुवास नेम्वाङको दाबी कायमै छ । ओलीले दुवैलाई बोलाएर सहमति गरेर आउन भनिसकेका छन् । तर पनि ओलीको भित्री चाहना भनेको ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउनु हो । कतिपय जनजाती नेताहरूले यसको विरोध गरेका छन् ।
पूर्व माओवादी खेमाले पनि कम्तीमा तीन पदाधिकारीसहित ३५ केन्द्रीय सदस्य मागेको छ । ओलीले यसको व्यवस्थापन कसरी गर्लान् त्यो हेर्न भने बाँकी छ ।
हिजो बन्द सत्रमा बोल्ने क्रममा ओलीले भनेका थिए, ‘अहिले राज्यसंयन्त्रको दुरुपयोग भइरहेको स्थितिबाट हामी गुज्रिरहेका छौं । लोकतान्त्रिक प्रणालीमा बहुतै खतरनाक हो यस्तो । तानाशाहहरूले गर्ने दमन एउटा कुरा हुन्छ, प्रतिक्रियावादी सत्तालाई कायम राख्नका लागि गरिने दमन उनीहरूको चरित्र हुने गर्छ । तर लोकतन्त्र आइसकेपछि त्यस लोकतान्त्रिक प्रणालीभित्र हामीले संविधान ल्याइसकेपछि, संविधान मौजुद रहेको अवाथामा अलोकतान्त्रिक ढंगले लोकतन्त्रका मूल्य मान्यता र अभ्यासलाई वेवास्ता गरेर लोकतन्त्रविरोधी कदम चालिएको छ, त्यो खतरनाक कुरा हो ।’
ओलीको यो भनाइ एमालेको सन्दर्भमा कति लागू भएको छ, यसको समीक्षा ओलीले गर्न भ्याएका छैनन् । उनले आफ्नो पदको दुरुपयोग गरेर निर्वाचित हुन पाउने नेता कार्यकर्ताको अधिकारमाथि हनन् गरेका छन् ।