पाकिस्तानी प्रधानमन्त्री इमरान खान र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार टेलिफोनवार्ता भएको छ । उक्त अवसरमा उनीहरुबीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइउको छ ।
‘राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो,’ प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका छन्, ‘उहाँ (पुटिन) पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउनुहुन्छ ।’ यतिमात्र नभएर खानले ट्वीटमा द्विपक्षिय व्यापार तथा हितका निम्ती सहकार्य गर्न र एक अर्काको देशमा भ्रमण गर्ने निम्तासमेत दिएको उल्लेख गरेका छन् ।
सोमबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनले गत वर्षको आफ्नो वार्तालापको स्मरण गर्दै द्विपक्षीय सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान गरेको पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ ।