कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?-Sutra News

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्दैछ । पहिलोपटक भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्न लागेको हो ।



१४ औं महाधिवेशनबाट सभापति जितेपछि शेरबहादुर देउवाले दुई पटक केन्द्रीय समिति बैठक राखिसकेका छन् । आज तेस्रोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । मंसिरमा कांग्रेसले महाधिवेशन गरेको थियो ।

कांग्रेसमा १४ पदाधिकारीमध्ये कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ । सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्ये एकलाई कोषाध्यक्षमा प्रस्ताव गर्ने र केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने व्यवस्था छ । साथै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठनको गृहकार्य गरेको छ ।

केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्छ । कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समिति बन्ने विधानको व्यवस्था छ । सभापति देउवाले २० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।

केन्द्रीय समिति ठूलो भएपछि कार्यसम्पादन समिति बनाउन लागिएको छ । १३ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय समिति सदस्य संख्या ८६ मात्रै थियो । पछि विभिन्न पार्टीसँग समायोजन गर्दा आमन्त्रितसमेत थप गरेर १२४ सदस्य पुगेका थिए ।

साथै आज स्थानीय तह चुनाव कहिले गर्ने भन्ने पनि छलफल हुनेछ । वैशाखमै स्थानीय तह चुनाव गर्न र गठबन्धनलाई चुनावसम्म नलैजान शेखर कोइराला पक्षले माग गरिरहेका छन् ।

यस्तो अवस्थामा पार्टीभित्र छलफल गरी आवश्यक रणनीति तय गर्न आज भर्चुअल रूपमा केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट