दाउन्नेमा गोली लागेर मरेको बाघ, कसले र किन मारेको हो?-Sutra News

दाउन्नेमा गोली लागेर मरेको बाघ, कसले र किन मारेको हो?

आइतबार, १६ माघ २०७८

आइतबार, १६ माघ २०७८

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेदेवी सामुदायिक वनक्षेत्रभित्र शनिवार अपराह्ण मृत अवस्थामा फेला परेको एउटा वयस्क पाटेबाघ कसले र किन मार्‍यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।



महेन्द्र राजमार्गदेखि झन्डै पाँच किलोमिटरभित्र घना जङ्गलमा भेटिएको सो बाघको शरीरमा दुईवटा गोली लागेको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका वन अधिकृत शङ्करप्रसाद गुप्ताले बताएका छन्।

बाघ लोपोन्मुख वन्यजीव हो।

नेपालमा मानवबस्ती र जङ्गल निकै नजिक भएकाले बाघहरू सहजै मध्यवर्ती क्षेत्र वा बस्तीमा पस्न सक्छन्।

उनीहरू मानवबस्तीमा मात्र नभई कोरिडोरमार्फत् अन्य जङ्गलमा समेत पुग्ने गर्छन्।

बाघको सङ्ख्या बढ्दै जाँदा वासस्थानको कमी हुने र यस्ता गतिविधि देखिने गरेको विज्ञहरूको भनाइ छ।

कहाँबाट आयो बाघ?

“सो बाघ नजिकैको चितवन राष्ट्रिय निकुञ्जबाट आहार खोज्दै यता आएको हुन सक्छ,” गुप्ता भन्छन्।

“तर त्यो बाघ मार्नकै लागि वन्यजन्तुका तस्करहरू पछि लागेका हुन् कि अरूले मारेका हुन् भन्नेबारे अनुसन्धान नगरी केही भन्न सकिने अवस्था छैन।”

वनका अधिकारीहरूका अनुसार यसअघि सो क्षेत्रमा खासै बाघ देखिने गरेको थिएन।

तर केही दिनअघि दाउन्ने पूर्वमा बाघको आक्रमणबाट एक स्थानीय महिलाको मृत्यु भएपछि सो क्षेत्रमा बाघ डुल्ने गरेको प्रमाण फेला परेको थियो ।

सो बाघ पत्ता लगाउन वन कार्यालयले ठाउँठाउँमा क्यामरा पनि जडान गरेको छ।

“एक साताअघि दाउन्नेको जङ्गल क्षेत्रमा बाघका पाइलाहरू भेटिएको भनेर स्थानीयहरूले बताएका थिए,” परासीका सहायक वन अधिकृत गिरिराज पन्थ भन्छन्।

“तर ती पाइलाहरू शनिवार मृत भेटिएको बाघका हुन् या क्यामरामार्फत् खोजी गरिएको बाघका हुन् या अर्को बाघको हो यकिन हुन सकेको छैन ।”

किन मारियो होला?

अधिकारीहरूले सो बाघलाई अरू सिकारीहरूले झुक्किएर मारेको पनि हुनसक्ने अनुमान गरेका छन्।

“सो जङ्गल क्षेत्रमा बँदेल, मृग, नीलगाई आदि जनावरहरू प्रशस्तै पाइने हुँदा ती जनावर मार्नका लागि सिकारीहरूले पासो थापेका हुनसक्छन्,” सहायक वन अधिकृत पन्थ भन्छन्।

“उनीहरूले थापेको पासोमा बाघ परेको सिकारीहरूलाई थाहा नपाई अरू जनावर भनेर टाढैबाट गोली चलाएका हुनसक्छन् ।”

“बाघ मार्ने उद्देश्य भएको भए सिकारीहरूले बाघका अङ्गहरू काटेर लैजान्थे होला नि।”

एक सय ५० किलो तौल साढे सात फिट लम्बाइ र साढे तीन फिट उचाइको सो पोथी बाघको शनिवार साँझ पोस्टमार्टम गरी छाला निकालेर बर्दघाटको वन कार्यालयमा गाडिएको छ।

बाघको छाला भने अहिले डिभिजन वन कार्यालय परासीमा राखिएको छ सो छाला सुकेपछि सङ्कलन केन्द्र चितवनको कसरामा पठाइने बताइन्छ । बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट