काठमाडौँ । सत्ता साझेदार गरेको नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच आइतबार प्रतिनिधिसभामा अमेरिकी अनुदान सम्झौता एमसीसी पेस भएको छ।
आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकमा पनि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरोध गरेको थियो । माधवकुमार नेपालसहित १४ सांसदहरुलाई पदमुक्त गर्नुपर्ने भन्दै एमालेले संसद अवरुद्ध पार्दै आएको छ ।
विभिन्न राजनीतिक दलहरुको विरोधका बाबजुद पनि एमसीसी संसदमा पेस भएपछि अबको प्रक्रिया के होला भन्ने विषयले यतिबेला तरंग फैलिएको छ ।
अर्थमन्त्री शर्मा बिरामी भएको भन्ने खवर आएपछि उनले एमसीसी पेस गर्न सकेनन् । त्यसकारण सरकारका प्रवक्ता तथा मन्त्री ज्ञानेन्द्र कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेस गरेका थिए ।
एमसीसी प्रतिनिधिसभामा पेस गरेपछिको प्रक्रिया के हुन्छ ?
संसद् संचालनको नियमअनुसार एमसीसी संसदमा पेस भएपछि सो विषयमा छलफल गर्नका लागि अर्को समय तोक्ने प्रचलन रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक आगामी १२ गते राखेकाले सो बैठकमा एमसीसीको सम्झौता पारितको प्रक्रिया अगाडी बढ्ने एक मन्त्रीले सूत्रन्यूजलाई जानकारी दिए ।
अर्को बैठकमा उपस्थित बहुमत सांसद एमसीसीको पक्षमा उभिए भने एमसीसी पारित हुन्छ तर त्यसो भएन भने एमसीसी पारित नहुने कानूनी व्यवस्था रहेको छ ।
नेकपा एमालेले एमसीसीको विषयलाई शान्तपूर्वक सहमत जनाएको छ । तर एमालेकै केही नेताहरु भने अझै पनि एमसीसीको विपक्षीमा रहेका छन् । नेता भीम रावलले आजको प्रतिनिधिसभा बैठकमा यसको खुलेर विरोध गरेका थिए ।
एमसीसी पास भयो भने चर्को आन्दोलन गर्ने चेतावनी पनि सरकारलाई निरन्तर रुपमा आइरेहको छ ।