काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना एमसीसी पारितका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठाउँदै आएका मागहरु पुरा गर्न लगभग सहमत भएको संकेत गरेको छ ।
आज बस्न लागेको प्रतिनिधिसभाको बैठक भोलिका लागि सरेर स्थगित भएसंगै प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । उनीहरुबीच भएको छलफलले यस्तो संकेत देखाएको हो ।
देउवाले ओलीलाई आफूलाई सरकारको कुनै अंकगणितबारे सरोकार नभएको तर एमसीसी अन्तराष्ट्रिय सम्बन्धको विषय भएका कारण एमसीसी जसरी पनि अनुमोदन गर्नुपर्ने बताएका थिए ।
देउवाले आफू प्रतिपक्षीमा रहंदा पनि एमसीसी अनुमोदन गर्नुपर्ने बताएको ओलीलाई स्मरण गराएका थिए । उनले ओलीसँग भने, ‘हामी सरकारमा हुँदा पनि तपाईंको समर्थनको अपेक्षा गर्छौं। छलफल गरौं। यसलाई अगाडि बढाऔँ।’
एमसीसीको विषयका कारण सत्ता गठबन्धन टुटे पनि देउवालाई खासै फरक नपर्ने कुरा उनले बताउँदै आएका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिनासंशोधन एमसीसी पास गर्न नहुने अडान राख्दै आएका छन् तर देउवा त्यसलाई मान्न तयार छैनन् । देउवा अहिले प्रचण्डसंग सम्बन्ध टुटाएर ओलीसंग सहकार्य गर्न लचिलो देखिएका छन् ।
गठबन्धन टुट्ने पक्का !
एमसीसीको विषयमा सत्ता गठबन्धनका नेताहरु एकमत नहुँदा गठबन्धन केहीदिन अगाडीबाट नै हलचल भइसकेको थियो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेता बाबुराम भट्टराई, उपेन्द्र यादवबीच एमसीसीको मत एकरुपता नहुँदा गठबन्धन अब अगाडी जान नसक्ने स्थितिमा पुगिसकेको छ ।
काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धन लगभग टुटेको बताइसकेका छन् । नेकपा (एमाले) र कांग्रेसका शीर्ष नेताहरूबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार भएको छलफलपछि थापाले गठबन्धन सङ्कटमा पुगेको बताएका हुन्।
“अब गठबन्धनबाट पार लाग्दैन, एमसीसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक छैन,” शीर्ष नेताको भेटमा सहभागी थापाले, “यो गठबन्धन अघि जान सक्दैन। धरापमा पुगिसक्यो।”
प्रचण्डको दौडधुप
सत्ता गठबन्धन लगभग टुट्ने निश्चित भएको बेलामा यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने दौडधुप अगाडी बढाएका छन् । प्रचण्ड एमसीसीको पक्षमा पनि छैनन्, सत्ता गठबन्धन टुटाउने पक्षमा पनि छैनन् । न उनी कार्यकर्ताहरुलाई आन्दोलन नगर भन्ने पक्षमा छन् न त सरकारबाट बाहिरिन नै ।
धेरैले उनलाई दोहोरो भूमिका देखाएको भन्दै आलोचनासमेत गरिरहेका छन् । सरकारमा पनि प्रचण्ड बाहिर सडकमा पनि प्रचण्ड भनेर धेरैले टिप्पणी गरिरहेका छन् ।
यदि एमसीसी पास भयो भने माओवादीले सरकार छाड्ने घोषणा गरिसकेको छ ।
देउवाले ओलीसंग मिलेर नयाँ राजनीतिक समीकरण अगाडी बढाउलान भन्ने डरले प्रचण्ड अहिले तनावमा छन् । सत्ता गठबन्धन एमसीसीमा एकमत नहुने हो भने प्रधानमन्त्रीले एमालेसँग सहकार्यको हात अघि बढाउनुपर्ने भएकाले पनि गठबन्धन जोगाउन प्रचण्डको दौडाहा बढेको हो ।
प्रधानमन्त्री देउवासंग मिलेर एमसीसीलाई पत्र पठाएको तर मिडियामा झुट बोलेका कारण उनीमाथि उहिल्यैबाट आलोचना सुरु भइसकेको थियो ।
भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने कार्यक्रम तय भएको छ । त्यसै आजै राती प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता हुने भएको छ । संसदमा अहिले एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा एमाले निर्णायक बनेको छ ।
ओलीले चाहे एमसीसी पास हुने देखिएको छ । त्यस्तै देशको राजनीतिले नयाँ मोड लिनेछ ।