सार्वजनिक यातायातको आफै भाडा बृद्धि गर्ने व्यवसायीहरुको चेतावनी-Sutra News

सार्वजनिक यातायातको आफै भाडा बृद्धि गर्ने व्यवसायीहरुको चेतावनी

आइतबार, १३ चैत्र २०७८

आइतबार, १३ चैत्र २०७८

सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर तत्काल लागू गर्न व्यवसायीहरुले माग गरेका छन् । उनिहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएसँगै भाडादर पनि समायोजन हुनुपर्ने माग गर्दै त्यसो नगरे आफै भाडा बृद्धि गर्ने चेतावनी दिएका छन् ।



दैनिक जसो तेलको मुल्य बृद्धि हुने, टायर, मोविल महँगिएको भन्दै उनीहरुले सरकारले वैज्ञानिक भाडादर लागू नगरेकोमा आक्रोश पोखेका हुन् । बुटवल यातायात प्रालिको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा आइतबार बुटवलमा बोल्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डिल बहादुर ढुङ्गानाले सरकारलाई दिएको अल्टिमेटम सकिएको बताए ।

उनले यही चैत्र १५ गतेसम्म भाडा समायोजन नभएमा लुम्बिनी प्रदेशमा आफै भाडा तोक्न बाध्य हुने चेतावनी दिए । उनले अन्य केही प्रदेशका पनि यस्तै तयारी भइरहेको बताउँदै भाडादर समायोजनमा सरकारले ध्यान नदिएको आरोप लगाए ।

कार्यक्रमा पूर्व अध्यक्ष डिल बहादुर थापा, अधिवक्ता जीव नारायण अधिकारी, प्रेस सल्लाहकार खिमानन्द भट्टराई, कोषाध्यक्ष ज्ञान बहादुर सार्की, व्यवसायी मधु अर्याल लगायतले सिन्डिकेट, कोरोना र बैंकहरुको ब्याजदर बृद्धिले व्यवसायीहरु चरम मारमा परेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट