भरतपुर महानगर प्रमुखमा कांग्रेसले नछोड्ने, शिर्ष नेतृत्वलाई दवाव दिंदै स्थानीय नेताहरु-Sutra News

भरतपुर महानगर प्रमुखमा कांग्रेसले नछोड्ने, शिर्ष नेतृत्वलाई दवाव दिंदै स्थानीय नेताहरु

बिहिबार, २४ चैत्र २०७८

बिहिबार, २४ चैत्र २०७८

भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेपाली कांग्रेस चितवनले दबाब बढाउँदै लगेको छ । महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीयस्तरमा आफ्ना नेताहरूमाथि दबाब बढाउन थालेका छन् ।



चितवन कांग्रेस सभापतिसहितका नेताहरूले बिहीबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन् । स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरूले कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन् ।

वरिष्ठ नेता पौडेल सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत हुन् । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुरा सुनाएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले बताए ।

‘उहाँले यसलाई गम्भीर रूपमा लिएको छु भन्नुभयो । चितवनको सन्दर्भमा धेरै जानकार पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ’, श्रेष्ठले भने । केन्द्रीय नेताहरूलाई भेट्न चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति टेकप्रसाद गुरुङ, नेता दिनेश कोइरालालगायतका नेता काठमाडौँमा छन् ।

पौडेलसँगको भेटपछि चितवन कांग्रेसका नेताहरूले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । देउवालाई पनि भेटेर चितवन कांग्रेसले गरेको निर्णयबारे जानकारी गराइने श्रेष्ठले बताए ।

‘भरतपुर महानगरमा मेयर पद कुनै पनि हालतमा छाड्न सकिँदैन । गठबन्धनको हामी विरोधी होइन’, उनले भने, ‘केन्द्रीय समितिकै निर्णय छ नि आवश्यकता र औचित्यका आधारमा निर्णय गर्ने भनेर । चितवनको आवश्यकता भनेकै भरतपुरको मेयर हो । गठबन्धन गर्दै गर्दा मेयर हामीलाई छोड्न पर्‍यो भन्ने अन्तिम बटमलाइन हो ।’

जिल्लाका सातवटै पालिकामा सत्ता गठबन्धनका दलहरूबीच तालमेलका लागि संयन्त्र बनाएर छलफल भइरहेको छ । महानगर प्रमुख कांग्रेसले पाउनेगरी तालमेल गर्ने पक्षमा चितवन कांग्रेस छ । माओवादी केन्द्र पनि महानगर प्रमुख आफूले पाउने गरी तालमेल गर्ने बताइरहेको छ । महानगर प्रमुखको पदलाई माओवादी केन्द्र र कांग्रेसले प्रतिष्ठाको विषय बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट