ताजिकिस्तानसँग ११–१ अन्तरले पराजित भएपछि समूह चरणबाटै आउट भयो नेपाल-Sutra News

ताजिकिस्तानसँग ११–१ अन्तरले पराजित भएपछि समूह चरणबाटै आउट भयो नेपाल

मंगलबार, २९ चैत्र २०७८

मंगलबार, २९ चैत्र २०७८

काठमाडौं । लगातार दोस्रो हार बेहोर्दै नेपाल एएफसी फुटसल एसियन कप छनोट चरणबाटै बाहिरिएको छ । सोमबार दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।



नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा सोमबार भएको खेलमा पहिलो हाफमा अग्रता लिँदै ताजिकिस्तानलाई बराबरीमा रोके पनि नेपालले दोस्रो हाफमा रोक्न नसक्दा फराकिलो हार बेहोर्नुपुग्यो । नेपालका लागि आदिल हामिदले १ गोल गरे । खेलको तेस्रो मिनेटमा आदिल हामिदको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो ।

आठौं मिनेटमा योरोभ इद्रिसले गोल गर्दै ताजिकिस्तानलाई १–१ गोलको बराबरीमा ल्याए । २१औं कुजिभ उमेदले गोल गर्दै ताजिकिस्तानलाई २–१ को अग्रता दिलाए । २५औं मिनेटमा सार्दोरोभ फाइजलीले गोल गर्दै ताजिकिस्तानलाई ३–१ ले अघि बढाए । ३१औं मिनेटमा फाइजलीले गोल गर्दै ताजिकिस्तानलाई ४–१ ले अघि बढाए । ३२औं मिनेटमा फाइजलीले ह्याट्रिक पूरा गर्दा ताजिकिस्तान ५–१ ले अघि बढ्यो ।

३३औं मिनेटमा हालिमोभ सभोक्वाटले गोल गर्दै टोलीलाई ६–१ को अग्रता दिलाए । ३४औं मिनेटमा उमेदले गोल गर्दै ताजिकिस्तान ७–१ ले अघि बढ्यो । ३४औं मिनेटमा हालिमोभले व्यक्तिगत दोस्रो गोल गरेपछि ताजिकिस्तान ८–१ ले अघि बढ्यो । ३७औं मिनेटमा रिजोमोभ समान्दरले गोल ९–१ को अग्रता दिलाए । त्यसपछि ३८औं मिनेटमा योरोभ र रिजोमोभले गोल गरेपछि ताजिकिस्तान ११–१ को फराकिलो जित दिलाए ।

छनोटको सेन्ट्रल र साउथ जोनअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्नेछ । किर्गिस्तानस्थित विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ । समूह ‘ए’मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिताअन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् ।

यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पूर्वबाट ३ तथा आसिआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन् । आयोजक कुवेत अन्तिम चरणका लागि छनोट भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट