

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार चितवनको भरतपुरमा आमसभा गर्दैछ । आमसभामा ५० हजारभन्दा बढी मानिस सहभागि हुने राप्रपाले दावी गरेको छ ।
केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा हुने आमसभास्थलमा चितवन र छिमेकी जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधारण आउने क्रम सुरु भएको राप्रपाले जनाएको छ ।
आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे बिहीबार नै चितवन पुगेका छन् । केन्द्रीय अध्यक्ष लिङदेन, उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा कार्यक्रमलाई सम्बोधन गर्नेगरी शुक्रबार बिहान चितवन पुगिसकेका छन् ।
आमसभामा आदिवासी, जनजातिहरुको मौलिक नृत्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत हुने जनाइएको छ । स्थानीय पञ्चेबाजा, झाँकी, र्यालीसहित स्वःस्फुर्त सहभागी हुँदैछन् ।
आमसभाको औपचारिक कार्यक्रम साढे १२ बजे सुरु हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए ।