तीज गीतमा द्विअर्थी र अपाच्य शब्द प्रयोग नगर्न प्रतिष्ठानको आग्रह-Sutra News

तीज गीतमा द्विअर्थी र अपाच्य शब्द प्रयोग नगर्न प्रतिष्ठानको आग्रह

सोमबार, १३ असार २०७९

सोमबार, १३ असार २०७९

हिन्दु नारीहरुको महान पर्व तीज आउन अब करिव दुई महिना मात्र बाँकी छ । तिज नजिकिएसँगै बजारमा तीजका गीतहरु बज्न थालीसकेका छन् भने टिकटक, फेसबुक जस्ता सामाजीक सञ्जालमा त तिजको रौनकता छाउन थालीसकेको छ ।



समयक्रमसँगै नेपालमा तीज मनाउने चलन फेरिएको छ। सांस्कृतिक र पारिवारिक महत्व बोकेको तीज मनाउने क्रममा आएको परिवर्तनले तीजमा सस्तो र अभद्र माया प्रेमको विषयले ठाउँ पाएको छ।

तीजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ। यसैलाई मध्यनजर गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सद्भावमा खलल पुर्‍याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरि समाजमा अपाच्य किसीमका सिर्जनाहरु प्रस्तुत गरेको पाइएमा साधारण सदस्यता लगायत सम्पूर्ण संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् ।

तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश भएको गुनासो आएकाले त्यसो नगर्न प्रतिष्ठानले आग्रह गरेको हो । प्रतिष्ठानद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ‘नेपाली मौलीक संगीत अन्र्तगत पर्वगीत विशेष तीजगीतलाई हाम्रो संस्कृतिको अर्को महत्वपूर्ण गीतको रुमा लिइन्छ । हरेक वर्ष उल्लेखीय मात्रामा तीजगीतहरु कुनै न कुनै माध्यमबाट ब्यबसायीक रुपमा हेर्न सुन्न पाईन्छ , यो सुखद पक्ष पनि हो । तथापी कतिपय तीजगीतको नाममा देखिएका विकृती विसङ्गती र अभद्र श्रब्यदृश्यहरुप्रति समस्त दर्शकश्रोताहरुको गुनासो वर्षेनी आइरहेको हुदा यस वर्ष पनि प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सदभावमा खलल पुर्‍याउने एवं अभद्र र नियतवश द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्छौं ।’

गत वर्ष गायक दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले साधारण सदस्यसमेत नरहनेगरी हटाएर कारबाही गरेको थियो । थापाले त्यसवर्ष तीज भाका बिच्च बिच्चमा–४ ‘ख्यास्स पुतली’ बजारमा ल्याएका थिए । प्रतिष्ठानले यो शब्द अश्लील भएको ठहर गर्दै गीतमा उक्त शब्द परिवर्तन गर्न दुर्गेशलाई लिखित निर्देशन दिएको थियो ।

तर दुर्गेशले सो निर्देशन नमानेपछी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायक दुर्गेश थापालाई सो प्रतिष्ठानको कलोसूचीमा राख्दै प्रतिष्ठानको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट