

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सोमबार प्रचण्ड निवासमा भेटवार्ता भएको हो ।
भेटवार्तामा प्रचण्डले नेपाल सरकार र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका छन् । यस्तै, विगतदेखि सहयोग गर्दै आएको चीनले अझैँ थप सहयोग गर्नुपर्ने धारणा पनि प्रचण्डले राखेका छन् ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डको भनाई उद्धृत गर्दै नेपालको भूमिमा चीन विरोधी कुनै गतिविधि हुन नदिने बताए ।
बैठकपछि उनले भने, ‘नेपालले जहिलै पनि चीनलाई असल मित्रको रुपमा स्वीकार गर्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै राम्रो सम्बन्ध विकास गर्न चाहन्छ । नेपालको भूमि भएर चीन विरोधी कुनै गतिविधि नदिने कुरामा सिंगो नेपाल सरकार पार्टी प्रतिवद्ध भएको विचार व्यक्त गर्नुभयो ।’