परनिर्भरताको पराकाष्ठाः एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात-Sutra News

परनिर्भरताको पराकाष्ठाः एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात

मंगलबार, १० साउन २०७९

मंगलबार, १० साउन २०७९

हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७८÷७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको हो । यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको विभागको दाबी छ ।



विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको सामान आयात भएसँगै नयाँ रेकर्ड कायम भएको हो । अघिल्ले वर्ष सोही अवधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाखबराबरको वस्तु आयात भएको थियो । गत १२ महिनाको अवधिमा यति धेरै वस्तु आयात भएको छ ।

व्यापार घाटा झनै चुलियो

विभागका अनुसार नेपालले एक वर्षको अवधीमा कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ को आयात गर्दा कुल २ खर्ब ३ करोड ९ लाखको वस्तु निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालबाट कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखबराबरको सामान निर्यात भएको थियो । तथ्यांकले निर्यातको तुलना गर्दा आयातमा वृद्धि भई व्यापार घाटामा झनै चुलिएको देखाएको छ ।

अघिल्लो वर्षको तुलनामा आयात २४ दशमलव ७२ प्रतिशतले बढेको छ । ४१ दशमलव ७४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

गत आवमा सरकारले ‘आयात उच्च भएको’ भन्दै विभिन्न वस्तु आयातमा प्रतिबन्ध गरे पनि अझै रोकिएको छैन । उपभोक्ताको भान्सादेखि हरेक वस्तु आयातमै निर्भर भएपछि देशको अवस्था यस्तो देखिएको हो । यसले राष्ट्रिय ढुकुटीमा भएको वैदेशिक मुद्रा सञ्चिति दर ह्वात्तै रित्याउने काम भएको विभागले बताएको छ ।

नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले विभिन्न ४७ वस्तु आयातमा प्रतिपत्र (एलसी) खोल्ने काममा नै प्रतिबन्ध व्यवस्था गरेको छ । आयातमा कडाइ गरे पनि अझै घट्नुको साटो थप बढेकाले मुलुक निकै आर्थिक समस्यामा पर्ने सम्भावना देखिएको सरोकारवाला औंल्याउ“छन्

उनीहरूका अनुसार नेपालले आयात गरेको वस्तुको तुलनामा निर्यात हिस्सा निकै कमजोर छ । त्यसैले अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्बको व्यापार घाटा बेहोरेको विभागले जनाएको छ ।

सो अवधिमा संसारभरका १ सय ६४ देशबाट नेपालले विभिन्न मालवस्तु आयात गरेको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार ती देशबाट यतिधेरै सामान आयात भएको हो ।

सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा कुल १ खर्ब ५५ अर्ब २२ करोड ३० लाखबराबरको सामान निर्यात भएको छ ।

जसका कारण नेपालले भारतसँग मात्रै १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।

एकवर्षको अवधिमा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको वस्तु आयात भएको छ । चीनबाट ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा सो मुलुकसँग २ खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको छ ।

यस अवधिमा आयातसँगै निर्यात पनि वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार विदेशी वस्तु आयातसँगै स्वदेशी वस्तु निर्यातमा वृद्धि भएको छ ।

आव २०७८÷७९ मा नेपालले २ खर्ब ३० करोड ९६ लाखबराबरको स्वदेशी वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्ष नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखबराबर निर्यात गरेको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो आवमा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटा पनि थप वृद्धि भएको छ ।

अघिल्लो आवको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको होे । विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर छ ।

एक वर्षको अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६ दशमलव १५ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । हाल, अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिले पनि नेपालको व्यापार घाटा बढाउन सघाएको सरोकारवाला बताउँछन् ।

रुस–युक्रेन द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेकाले यहाँ पनि त्यसको असर परेको उनीहरूको भनाइ छ ।

मूल्य बढेकै कारण पेट्रोलियम पदार्थ खरिद गर्न मात्र ३ खर्ब ५ अर्ब बाहिरिएको भन्सारको तथ्यांकमा उल्लेख छ । एक वर्षमा इन्धनको मूल्य दोब्बरले बढ्दा मुलुकको व्यापार घाटा चुलिएको सरोकारवाला बताउँछन् । राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट