सप्तकोशी बाढीः पानीको सतह घट्यो, भँगालो छिरेको गाउँको अवस्था के छ ?-Sutra News

सप्तकोशी बाढीः पानीको सतह घट्यो, भँगालो छिरेको गाउँको अवस्था के छ ?

बिहिबार, १९ साउन २०७९

बिहिबार, १९ साउन २०७९

सप्तकोशी नदीमा पानीको सतह घटेसँगै उदयपुरको बेलका नगरपालिकाबाट विस्थापित भएका मानिसहरू घर फर्किन थालेको अधिकारीहरूले बताएका छन्।



तर धार परिवर्तन गरेर आएको नदी बस्ती भएको ठाउँबाटै बगिरहेकाले उनीहरूलाई सावधान रहन सुझाव दिइएको नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए ।

बुधवार सबेरै नदी फुटेर गाउँमा प्रवेश गरेपछि तटीय क्षेत्रमा रहेका झन्डै २०,००० मानिस जोखिममा पर्न सक्ने अधिकारीहरूले चेतावनी दिएका थिए ।

वर्षाका बेला सप्तकोशीमा आउने बाढीले नदी किनारमा रहेका क्षेत्र डुबानमा पार्ने गरेको छ ।

सिसौली टप्पु-चिलिया बस्ती हुँदै पसेको कोशीको भँगालोले बेलका नगरपालिकाका पाँचवटा वडा प्रभावित भएका थिए। त्यसपछि कोशीको धार २०४५ सालअघिकै अवस्थामा फर्किएको थियो ।

उद्धारकार्यमा डुङ्गासहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो। अहिले पनि त्यहाँ सुरक्षाकर्मी छन् ।

स्थानीय निकायका अनुसार ५० भन्दा बढी परिवारलाई खाना उपलब्ध गराइएको छ भने कतिपय मानिसहरूले आफन्तकोमा शरण लिएका छन् ।

प्रत्येक वर्ष बाढी र डुबानका कारण कोशीले नेपाल र भारतका हजारौँ मानिसहरूलाई प्रभावित पार्ने गर्छ। उदयपुरमा नदी फुटेपछि जोखिम कम गर्न कोशीको ढोका खोल्न स्थानीय प्रशासनले माग गरेको थियो ।

कोशीमा २ लाख क्यूसेकभन्दा बढी पानी बग्न थालेपछि खतराको तहमा पुगेको मानिन्छ। बिहीवार अपराह्ण पानीको तह १ लाख ९८ हजार क्यूसेक रहेको थियो भने ३५ वटा ढोका खोलिएका थिए ।

कोशी नेपालको सबैभन्दा ठूलो नदी हो। सन् २००८ मा सुनसरीको कुशाहमा रहेको नदीको पूर्वी तटबन्ध भत्किँदा त्यसले नेपाल र भारतमा ठूलो क्षति गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट