

एप्पलले आईफोनमा विज्ञापन ल्याउने तयारी गरेकाे छ । ब्लुमबर्गकाे एक समाचारअनुसार म्याप्स, बुक्स, पोड्कास्ट लगायतका प्रि-इन्स्टल्ड एपमा कम्पनीले विज्ञापन देखाउने गरेकाे हाे ।
यसका लागि एप्पलले म्याप्स एपका लागि विज्ञापन परीक्षण गरिरहेको साे समाचारमा उल्लेख छ । प्रयाेगकर्ताले म्याप्समा रेस्टुरेन्ट, स्टोर वा अन्य नजिकका बिजनेस सर्च गर्दा साे एपमा विज्ञापन आउनसक्ने बताइएको छ ।
एप्पलले यही किसिमको विज्ञापन मोडल एप स्टोरमा लागू गर्दै आएको छ । कुनै पनि डेभलपरले एप स्टोरमा आफ्नो एपलाई प्रवर्द्धन गर्नका लागि विज्ञापनका रूपमा शुल्क तिर्नसक्छन् ।
ब्लुमबर्गका सम्पादक मार्क गर्मानले उल्लेख गरेअनुसार यो विज्ञापनका माध्यमबाट विभिन्न व्यवसायीले आफ्नो व्यापार म्याप्समा प्रवर्द्धन गर्न सक्नेछन् ।
त्यस्तै एप्पलले पोडकास्ट र बुक एपमा समेत विज्ञापन ल्याउनसक्ने गर्मानले अनुमान गरेका छन्
हाल म्याप्स, पोडकास्ट र बुक एपमा कुनै पनि किसिमको विज्ञापन समावेश छैन । एप्पलले पहिलो पटक सन् २०१६ मा एपस्टोरका लागि विज्ञापन समावेश गरेको थियो ।
त्यस्तै एप्पलले स्टक्स र न्युज एपमा समेत विज्ञापन उपलब्ध गराउँदै आएको छ ।
एप्पलले म्याप्स, पोड्कास्ट र बुक्समा विज्ञापन ल्याउने योजना बनाउनुले कम्पनी विज्ञापन व्यापारमा अझ बढी सक्रिय हुन खोजेको देखिन्छ ।
गत मे महिनामा इन्साइडर मिडियाले प्रकाशन गरेको समाचारअनुसार एप्पलका बरिष्ठ उपाध्यक्ष एड्डी क्युले एप्पलको सर्भिस बिजनेसलाई पुनःनिर्माण गर्न लागेको बताएका थिए । जसले गर्दा स्ट्रिमिङ र विज्ञापनमा बढी ध्यान दिएको देखिन्छ ।
एप्पलको सर्भिस बिजनेसमा विभिन्न विज्ञापन र सब्स्क्रिप्सन सेवा छन्, जसले गर्दा पछिल्लाे त्रैमासमा कम्पनीको आम्दानी १२ प्रतिशतले बढेको थियो । टेकपाना