

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार धरान पुगेका छन् । धरान पुगेका प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सहभागी जनाएका छन् ।
दुई साताअघि मेयर साम्पाङ काठमाडौं आउँदा खुमलटार पुगेरै प्रचण्डलाई भेट गरेका थिए । सो भेटमा मेयर साम्पाङले प्रचण्डलाई श्रमदानको निम्तो दिएका थिए । आज सोही वाचा पुरा गर्न प्रचण्ड धरानमा वृक्षरोपण कार्यक्रममा सहभागी भएका हुन् । प्रचण्ड र मेयर साम्पाङले वृक्षरोपण गरेका छन् ।
वृक्षारोपण गर्दै प्रचण्डले माओवादीले गर्नुपर्ने काम हर्कले अहिले गरिरहेको बताए । पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनताले हर्कको व्यवहारबाट प्रेरणा लिनुपर्ने बताए ।
उनले भने – ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भिरतापूर्वक हेरेको छ । हामी कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नु भएको छ । म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहार बाट, उहाँको आचरणबाट प्रेरणा लिन म अनुरोध गर्न चाहान्छु ।’