रौतहट– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम चुनावी मैदानमा नभए पनि आसन्न निर्वाचनमा रौतहट–२ को प्रतिस्पर्धा रोचक हुने निश्चित छ।
अफताबसँग निर्वाचनमा पराजित भएका शैलेन्द्र साह एमालेसँगको तालमेलका कारण जनता समाजवादी पार्टी (जसपा)बाट मैदानमा छन्। उनी यसअघि एमालेबाट मैदानमा हुने गरेका थिए।
कांग्रेसले भने अफताबको लिगेसीलाई कायम राख्नका लागि उनका पुत्र नेपाल प्रहरी अस्पतालका पूर्व अधिकृत डा. फिरदोस आलमलाई मैदानमा उतारेको छ। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका फिरदोस आलमका छोरा हुन्।
एमाले–जसपा तालमेलका उम्मेदवार साहका लागि स्वतन्त्र उम्मेदवारी दिएका किरण साह ठूलो तगारो बनेका छन्। उनी एमालेका बागी उम्मेदवार पनि हुन्।
सत्ता गठबन्धनको बलियो साथ पाएका र बाबुको विरासतका रुपमा रहेको प्रभावित क्षेत्रमा फिरदोसले चुनावमा सहज जित निकाल्न सक्ने विश्लेषण गरिएको छ।
०७४ मा अफताब आलम सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले संसदीय राजनीतिमा आफ्नो क्षेत्रमा प्रायः जित निकालेका छन्। समाजसेवीका रुपमा पनि व्याख्या गरिने अफताबको बिरासत जोगाउनका लागि फिरदोस आक्रामक चुनावी प्रचारमा जुटेका छन्।
फिरदोसले जित निकाल्न सक्ने बलियो आधार स्थानीय तहमा उनका भाई रजिक आलमले निकालेको राजपुर नगरपालिकाको मेयरको जित त हो नै, गठबन्धनमा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साथ पनि हो। माओवादी र लोसपाको पनि बलियो प्रभाव रहेको उक्त क्षेत्रको यो चुनावी भिडन्त रोचक हुने देखिन्छ।