काठमाडौं– गएको स्थानीय तह निर्वाचनमा अभूतपूर्व जीत निकाल्दै काठमाडौंको मेयर भए र्यापर बालेन्द्र साह उर्फ बालेन। स्वतन्त्र उम्मेदवारीमार्फत राजनीतिमा पर्दापण गरेका बालेन मेयर भएको ७ महिनामा चर्चाको चुलीमा त छँदैछन् विवादको घेरामा पनि परेका छन्।
उनले यसै बर्ष गत जेठ १६ मा पदभार ग्रहण गरेका थिए। ३१ वर्षीय बालेन इन्जिनियर पनि हुन्। नयाँ पुस्ताबीच उनी चर्चित छन्।
काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेन आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा हुन्। बालेनका पिता रामनारायण साह दिवंगत राजा वीरेन्द्रका नीजि डाक्टर थिए।
ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय औद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगिसकेका छन्।
बालेन २०७२ सालको महाभूकम्मा उद्धार र राहतको काममा सक्रिय भएका थिए। बालेनले महानगरको मेयर जित्नेमा मुख्य दलले संकोच गरेका थिए तर नतिजा उनकै पक्षमा पुग्यो।
फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरू बालेनको पक्षमा खुलेरै चुनावी प्रचारमा सक्रिय भए।
काठमाडौंको विकासका लागि आफू योग्य साबित गर्न बालेनले चुनावअघि गरेका वाचाअनुसार एक्शनमा उत्रिए। उनको पहिलो काम थियो काठमाडौंको विकराल समस्याको रुपमा रहेको फोहोर ब्यबस्थापन। निर्वाचित भएका केही महिना फोहोर व्यवस्थापन नहुँदा बालेनको आलोचना भयो। उनी फोहोर व्यवस्थापनका निम्ति नुवाकोटको बञ्चरेडाँडाका स्थानीयसँग संवाद गर्न पुगेका थिए। काठमाडौंबाट पठाइएका फोहोरका गाडी स्थानीयले रोक्दा काठमाडौंमा बालेनको विरोध भएको थियो।
बालेनको कार्यकाल सुरु भएयता फोहोर ब्यबस्थापन सुकुम्बासी बस्तीमा डोजर चलाउनेसम्म आउँदा कतै चर्चा त कतै विरोध भयो।
सात महीनाको अबधिमा अनाधिकृत रुपमा बाग्मती नदी किनारमा बनाईको सुकुम्बमसी बस्ती हटाउने बालेनको अभियानले केन्द्रीय राजनीति नै तरङगीत छ। तर बालेन आफ्नो अभियानमा कत्ति पनि बिचलित छैनन्।
नयाँ पुस्ता र काठमाडौंका स्थानीयवासीले उनको कामको प्रशंशा गरेका छन् भने परम्परागत राजनीतिक दलका नेताहरूले भने बिरोध गर्दै आएका छन्।
महानगरको जिम्मेवारी लिएको ७ महिना पुग्दा उनी मिडियाको ल्यामलाइटमा मात्र सीमित छैनन्। केही देखिनेगरीका काममा पनि बालेन सक्रिय छन्।
फोहोर व्यवस्थापनः काठमाडौंको फोहोर कसरी व्यवस्थापन गर्ने र अहिलेको ल्यान्डफिल्ड साइटको विकल्प के भन्नेमा बालेनले चासो राखे। बालेनले चुनाव लड्दै गर्दा काठमाडौंमा फोहोरको थुप्रो थियो। महानगरका पुराना प्रमुख विद्यासुन्दर शाक्यले ध्यान दिएका थिएनन् भने राजनीतिक दल उदासिन थिए।
बालेन र उनको टिम यो कुरामा जानकारै थियो। तैपनि यो टिम सिसडोल खोलेपछि आफैं समस्या समाधान हुन्छ भन्नेतिर लाग्यो। बालेनले फोहोर व्यवस्थापनमा तदारुकता देखाउँदै मुख्य दलका शीर्ष नेता र मन्त्रीसम्म भेटे। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई मात्र भेटेनन् समस्या समाधानका निम्ति तत्कालिन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसम्मलाई भेटे। अन्ततः फोहोर व्यवस्थापनको काममा उनी स्वचालित भए। अहिले उनको योजनाअनुसार कुहिने र नकुहिने फोहोरलाई घरैदेखि छुट्याउने काम सुरु भइसकेको छ।
सार्वजनिक शौचालयको व्यवस्थाः बालेनको अध्यक्षतामा बसेको पहिलो नगर सभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि महानगरले ३३ निजी संस्थासँग सम्झौता गरेको थियो। शौचका लागि शौचालयको अभाव थियो। एकाध ठाउँमा शौचालय त थिए, तर भद्रगोल अवस्थामा। सार्वजनिक शौचालयका लागि उनले नजिकका बैंक, रेष्टुरेन्टका रेष्ट रुमलाई प्रयोग गराउनुपर्ने सहमति गराए। यो अभियानको प्रशंशा र व्यंग्य दुवै भयो तर बालेन रोकिएनन्।
फुटपाथ खाली गर्ने अभियानः काठमाडौको अर्को समस्या थियो फुटपाथको सकस। पैदलयात्रु र नजिकका सटर व्यापारीको समस्या सम्बोधनमा बालेनको अर्को अभियान चल्यो। यो अभीयानको पनि केहीले प्रशंसा गरे भने धेरैले मानबीयता नभएको भन्दै आक्रोश राखे। बालेनले उक्त अभियान सुरु गर्दै गर्दा जब महानगरका नगरप्रहरीहरूले बालुवाटारमा ठेलामा मकै बेच्ने दम्पतिको ठेला खोसिँदा उनी आलोचित भए। देशैभरी उनको चर्चा र आलोचना भयो।
अनाधीकृत संरचना हटाई ब्यबस्थित पार्कीङः महानगरले पूर्वयोजनाअनुसार नै पार्किङस्थल खुलाउने अभियानमा सक्रिय भए बालेन। महानगरका सबै वडामा ३५ दिनभित्र अन्डरग्राउन्ड पार्किङ खाली गर्न र अवैध रूपमा बनाइएका संरचनाहरू भत्काउन सूचनासहितको चिट्ठी पठाउँदा पनि अटेर गरेपछि बालेन आफै त्यस्ता संरचना हटाउन डोजर लिएर निस्किए। यो अभियानले उनको चर्चा ह्वात्तै बढ्यो। यो उपक्रममा बालेनले राहदानी विभागको पार्किङ समेत खुलाएर प्रशंशा पाए।
टुकुचा नदीको खोजीः हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचा नदीलाई करिब ४५० मिटरमा भूमीगत गरिएको थियो। यसको अभियान जय नेपाल हलको जमिनदेखि बालेनले सुरु गरे। यस विषयमा कतिपयले अदालतमा मुद्दा समेत गरेका थिए। तर, बालेनको यो अभियान पनि रोकिएन। गत साउन १२ गते महानगरले टुकुचा खोलाबारे सूचना निकालेर ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवनm काठमाडौं प्लाजाको उत्तर तर्फदेखि जय नेपाल हलसम्ममा खोजी भयो।
सुकुम्बासी बस्तीमा डोजरः अहिले भने बालेन थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती खाली गराउने अभियानमा छन्। अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको प्रस्तावका आधारमा बालेन एक्शनमा उत्रिए। यहि प्रकरणमा उनको मुख्य दलका नेताले नै आलोचना गरेका छन्।
थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सुकुम्बासीको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भए। तर बालेन रोकिएका छैनन्। सुकुम्बासी समस्याको दिर्घकालिन समस्याको बहस एकातिर चुलिएको छ भने बालेनको एक्शन अर्कातिर जारी रहँदा विरोध र समर्थनका आवाज गुञ्जयमान छन्।