काठमाडौँ । गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ । योसंगै अब नयाँ सरकार गठनको लागि ढोका खुलेको छ ।
पाँच दलीय गठबन्धनले निर्वाचनमा सामान्य बहुमतसमेत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बन्नका लागि गाह्रो देखिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्ने बताउंदै आएका छन् । प्रत्यक्षमा जम्मा १८ सिट जितेको माओवादीका अध्यक्षलाइ देउवासँगको सहयोगमा प्रधानमन्त्री बन्ने हुटहुटी जागेको हो ।
तर प्रधानमन्त्री देउवा भने कम्युनिष्टबाहेकको सरकार बनाउने योजनाका साथ आफ्ना पार्टीका नेताहरुसँग छलफलमा छन् ।
देउवाले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, र महन्थ ठाकुर र स्वतन्त्र सांसदहरुको सहयोगमा सरकार बनेर आफू ५ वर्ष नै प्रधानमन्त्री बन्ने दौरानमा रहेका छन् ।
प्रतिनिधिसभामा नेपाली काँग्रेसको ८७ सिट छ । राष्ट्रिय स्वतन्त्र पार्टीको २० राप्रपाको १४, जसपाको १२ जनमतको ६ लोसपाको ४ सिट र स्वतन्त्रमा अमरेशसहित कम्तीमा ३ जनाको स्थान छ । यो सबै सांसदको संख्या जोड्दा १४८ हुन आउँछ । जुन सरकार बन्नका लागि पर्याप्त बहुमत हो ।
प्रचण्ड र नेकपा एससँग मिलेर सरकार बनाए उनीहरुले प्रधानमन्त्री पालैपालो बन्नुपर्ने माग राख्ने स्पष्ट छ । आलोपालो प्रधानमन्त्री बन्नमा देउवा सकारात्मक नदेखिएका कारण पनि उनी प्रचण्ड र माधवलाई नबोक्ने प्लानमा रहेका हुन् ।
काँग्रेसका दोस्रो पुस्ताका नेताहरु प्रचण्ड र माधव नेपालसँग मिलेर सरकार बनाउने कुरामा सन्तुष्ट छैनन् । चुनावअगाडी पनि गठबन्धन गरेर जाने कुरामा उनीहरुले आपत्ति जनाएका थिए । यद्दापी चुनावमा गठबन्धन नै गरेर होमिएका थिए ।
गठबन्धनका अहिलेका दलहरुलाई नै निरन्तरता दिए काँग्रेसलाई थप क्षति हुने पनि कतिपय काँग्रेस् नेताहरुको निर्क्योल रहेको छ ।