काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ चर्चा र विवादको घेरामा परिरहनेमा पर्छन्। कहिले नेतालाई गाली गरेर त कहिले कार्यपालिका सदस्यको राजीनामा मागेर मिडियामा आइरहने साम्पाङ यस पटक भने गम्भिर विषयमा बोलेका कारण फेरि चर्चामा छन्।
निर्वाचन जीतेपनि उपमहानगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्षहरू सँगै विवादमा उत्रिएका उनी धरानमा पानी ल्याउने काममा नेतालाई पनि श्रमदानमा आउनुपर्ने भन्ने भनाईका कारण चर्चामा रहे।
काठमाडौंको फोहोर व्यवस्थान नहुँदा आलोचित महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि कटाक्ष गरेका कारण पनि ल्यामलाइटमा रहेका साम्पाङ यस पटक भने जातीय विषयले आलोचित भइरहेका छन्। तर उनी रोकिनुको साटो प्रतिवादमा उत्रिएका छन्।
यहाँसम्मकी उनको अभिव्यक्तिका विषयमा दलित आयोगले नै पत्र लेखेको छ। आयोगको पत्रमा भनिएको छ,‘धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत तराईको दलित समुदायमाथि अपमान गर्ने अभिव्यक्ति दिएकोमा त्यसमा आयोगले विज्ञप्तिमार्फत मेयर राईलाई सच्याउन आग्रह गर्दा पनि उनले बेवास्ता भएको छ।’
आयोगले अगाडि लेखेको छ,‘अझ दलित समुदायलाई अर्ति उपदेश दिने र आफ्नो कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानून भन्दा आफू माथि रहेको जस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेको हुँदा उनलाई कानून बमोजिम कारबाहीका लागि सिफारिस गरिएको छ।’
आयोगको यो पत्रमा कहाँ रोकिन्थे र साम्पाङ? बरु उल्टै उनले आफूलाई नभएको आरोप लगाएको र जातीय सद्भाव भड्काएको भन्दै दलित आयोगलाई नै कारबाहीको माग गरेका छन्। यति मात्र होइन साम्पाङले दलित आयोगलाई ‘झ्यासझुसे’ आयोग भनी सम्बोधन गरेका छन्।
अधिकारकर्मीहरूका अनुसार साम्पाङलाई कानुनी कारबाही हुने व्यवस्था रहेको छ। संविधानको धारा १८ समानताको हकको व्यवस्था गरिएको छ । जसको उपधारा २ मा सामान्य कानूनको प्रयोगमा उत्पत्ति धर्म, वर्ण, जात, जाति, लिंगका आधारमा भेदभाव गर्न नपाइने भनिएको छ।
भिडियोमा पनि हेर्नुस्
धारा २४ मा छुवाछूत भेदभाव विरुद्धको हकको व्यवस्था गरिएको छ। जसमा कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जात, जातिको आधारमा विभेद गर्न नपाइने व्यवस्था छ। धाराको उपधारा ५ मा यदि कसैले जात, जातिकै आधारमा सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गरेमा गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछ र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था पनि गरिएको छ।
उल्लेखित कानून अनुसार साम्पाङलाई दुई महिनादेखि ३ वर्षसम्म कैद र २० हजारदेखि डेढ लाखसम्म जरिवाना हुन सक्ने देखिन्छ। उनले सामाजिक सन्दर्भमा फेसबुकमा तराईको दलित समुदायलाई असर हुनेगरीको शव्दको प्रयोग गरेका थिए।
गत स्थानीय निर्वाचनमा अभियानकर्मी भएकै कारण उनलाई धराने जनताले मेयरमा जीताएका थिए। सामाजिक अभियानका क्रममा नै उदण्ड व्यवाहार देखाउने मेयर साम्पाङ आक्रामक गतिविधिका कारण विवाद र चर्चामा छन्।
यसअघि इटहरी उपमहानगरपालिकाका तत्कालिन मेयर द्वारिकलाल चौधरी यस्तै गतिविधिका कारण विवादमा आउने गरेका थिए। उनी गत प्रदेशसभा निर्वाचनमा सुनसरी ‘ख’मा पराजित भए। उनलाई गठबन्धनका तर्फबाट माओवादीले उम्मेदवार बनाएको थियो।