काठमाडौं – नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७ दिनको समय धर्किदै जाँदा सत्ता गठबन्धनभित्रका नेताहरुको दौडधुप बढीरहेको छ । सत्ता गठबन्धनको नेतृत्वमा नै नयाँ सरकार गठन गर्ने तयारी गरिए पनि दलहरुबीच ठोस सहमति भने भइसकेको छैन ।
नेपालमा शक्तिशाली मानिने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित सात पदमा को को बस्ने भन्ने बिषयमा गठबन्धनका नेताहरुबीच निरन्तर छलफल चलिरहेको छ ।
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने जोडबलमा लागेका छन् भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । प्रचण्डले देउवालाई भेट गरेर अबको प्रधानमन्त्री आफू नै बन्नुपर्ने प्रस्ताव राखिसकेका छन् ।
आफू प्रधानमन्त्री बन्न प्रचण्ड अहिले गठबन्धनभित्र र बाहिरका पार्टीका नेताहरूसँग भेटघाट गरिरहेका छन् । एमाले उपाध्यक्षद्वय सुवास नेम्बाङ र विष्णु पौडेल, सचिव रघुवीर महासेठलगायतका नेताहरुसँग उनको भेट भइसकेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, नेता अर्जुननरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाण, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई लगायतका नेताले पनि प्रचण्डलाई भेटिसकेका छन् ।
सबै नेताहरू प्रचण्डलाई भेट गर्न उनकै निवास खुमलटार पुगेका छन् । यो सबै हेर्दा सरकार गठनको मूल व्यक्ति नै प्रचण्ड देखिएका छन् । माओवादी केन्द्रलाई नै लिएर नयाँ सरकार गठन गर्न अन्य दल तछाडमछाड गरेको देखिन्छ । अहिले प्रचण्ड निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । स्रोतका अनुसार अहिले गठबन्धनका दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङ गर्ने बिषयमा सहमतिसहित तीन विकल्पको खाका तयार भएको छ ।
कांग्रेसलाई राष्ट्रपति दिने र माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने गरी एउटा मोडालिटीमा खाका तयार भएको स्रोत बताउँछ । यस्तै अर्को मोडालिटीमा राष्ट्रपति माओवादीलाई र प्रधानमन्त्री कांग्रेसलाई दिने खाका तयार भएको छ । तेस्रोमा राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई र प्रधानमन्त्री कांग्रेसलाई दिने खाका तयार भएको बताइएको छ । तर पहिलो मोडालिटीमा बढी ध्यान दिइएको स्रोतको भनाई छ ।
अहिले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरिरहेको छ भने माओवादीले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गरिरहेको छ । अहिले मूल व्यक्तिको रुपमा देखिएका प्रचण्डलाई अब देउवाले सहयोग गरे प्रधानमन्त्री बन्ने पक्का पनि देखिन्छ । अन्य शक्तिशाली पदका बिषयमा पनि गठबन्धनका दलहरुबीच छलफल चलिरहेको नेताहरुले बताइरहेका छन् ।प्रतिनिधिसभामा ८७ सिट कांग्रेसको र १८ सिट माओवादीको रहेको छ ।