

बर्दियामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।
मधुवन नगरपालिका-४ की ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय मंगाराम थारु पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थारु पहिले पनि बलात्कार मुद्दामा दोषी ठहर भई जेल जीवन बिताएर छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुदीपराज शाहीले जानकारी दिए ।
२०७५ /०९/ ०४ गते बलात्कार सम्बन्धी कसुर खेपेका थारुलाई अदालतले सोही वर्ष चैत ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतबाट सफाइ पाएपछि थारु २०७६/०८/०१ मा छुटेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयस सापकोटाका अनुसार शुक्रबार दिउँसो १ बजेतिर थारु वृद्धाको घरमा प्रवेश गरी बलात्कार गरेको भन्ने किटानी जाहेरी परेको थियो ।
पीडितको तर्फबाट बुहारीले स्थानीय प्रहरीमा पुगेर थारूविरूद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।