प्रतिपक्षमा एक्लिँदै एमाले : रास्वपा र राप्रपाले छाडे साथ-Sutra News

प्रतिपक्षमा एक्लिँदै एमाले : रास्वपा र राप्रपाले छाडे साथ

शुक्रबार, १५ भाद्र २०८०

शुक्रबार, १५ भाद्र २०८०

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिको भागवण्डामा प्रतिपक्षी भएपनि एमाले र राप्रपाले भाग पाए । एमालेले तीन वटा विषयगत समितिको नेतृत्व पायो भने राप्रपाले एक वटा समितिको नेतृत्व पायो । यस्तोमा प्रतिपक्षीको बेन्चमा बस्ने रास्वपासहित अन्य दल भने नराम्रोसँग जिल्लिए ।

प्रतिपक्षी दलहरुको नेतृत्व गरिरहेको एमाले समितिको भागवण्डामा भने एक्लै अगाडि सरेको थियो । उसले अन्य कुनैपनि दलको विषयमा सरोकार राखेको थिएन । राप्रपाले एक वटा विषयगत समितिको नेतृत्व पाएपनि उक्त समितिको नेतृत्व माओवादी केन्द्रले त्याग्दा मात्रै पाएको हो । जहाँ कोशी प्रदेशमा सत्ता सहकार्य गर्ने विषय जोडिएको छ ।

यद्यपि संसदको चौथो ठूलो दल रास्वपालाई न सत्तापक्षले वास्ता गर्‍यो न त प्रतिपक्षले । विशेषगरी एमालेसँग निकट देखिएको रास्वपा संसदीय समितिहरुको बाँडफाँटमा जिल्लिएपछि अहिले निकै रुष्ट बनेको छ । रास्वपाले सार्वजनिकरुपमा नै एमालेप्रति आक्रोश पोखेको छ ।

“प्रमुख प्रतिपक्ष दलले अरु प्रतिपक्षी दलहरुलाई कुनै मतलब राखेन, जसरी पनि मै खाऊँ मै लाऊँ जस्तो गर्‍यो”, विषयगत समितिको बाँडफाँटपछि सार्वजनिकरुपमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भनेका छन्, “प्रमुख प्रतिपक्षले सामान्य धर्म पालना गरेको देखिन्न, अन्य दललाई पनि मिलाउने स्वभाव उसमा कत्ति छैन ।”

विषयगत समिति भागवण्डाको घटनापछि रास्वपा एमालेसँग निकै बिच्किएको छ । रास्वपाले योबीचमा सत्तारुढ दलका नेताहरुसँग छलफल पनि अगाडि बढाएको छ । रास्वपाका पछिल्ला भेटवार्ता सरकारमा सहभागि हुने कोणबाट अगाडि बढेका जस्ता देखिन्छन् ।

रास्वपा मात्रै होइन, निर्वाचनदेखि नै निकै निकट रहेको राप्रपा पनि एमालेबाट टाढिन थालेको छ । विषयगत समितिको बाँडफाँटमा समेत राप्रपा सत्ता गठबन्धनसँग नजिक बन्यो । कोशीमा राप्रपाले सत्ता सहकार्यको ग्रिन सिंग्नल दिइसकेको छ । यद्यपि, राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देन एमालेसँगै सहकार्य गर्ने पक्षमा देखिएका छन्, तथापी पार्टीभित्र उनको बचश्र्व छैन ।

संसदको विषयगत समितिमा सत्ता गठबन्धनले भाग दिएपछि राप्रपाका नेताहरु उत्साहित देखिएका छन् । त्यसयता राप्रपाका नेताहरु सत्ता गठबन्धनसँग सहकार्यको ढोका खुलेको बताउने गरेका छन् । उपाध्यक्ष बुद्धिमान तामाङले सार्वजनिकरुपमै सत्ता गठबन्धनसँग सहकार्यको सुरुवात भएको बताएका छन् ।

राप्रपा नेताहरुका कोशी प्रदेश सरकारको अवस्था प्रष्ट भएपछि प्रदेश र संघमा राप्रपाको सहभागिता हुने सम्भावना थप प्रष्ट हुने बताउँछन् । कोशी प्रदेश सरकारको हैसियत सर्वोच्च अदालतमा हुने अन्तिम सुनुवाईले प्रष्ट पारिदिने नेताहरुको विश्वास छ ।

एमालेको अराजक शैलीबाट आजित छन् प्रतिपक्षी

प्रमुख प्रतिपक्षी दल एमालेको पर्याय बनेको छ ‘संसद अवरुद्ध’ । संसद अवरोधका घटनाले सत्ता पक्षमात्रै होइन अन्य प्रतिपक्ष दलहरु पनि एमालेप्रति असन्तुष्ट छन् । दलहरुले सदनमा एमालेले ‘बलमिच्याई’ गरिरहेको आरोप लगाउने गरेका छन् ।

कतिपय प्रतिपक्षी दलले एमालेको तर्फबाट सभामुख बनेका देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाउने गरेका छन् । एमालेअनुकुल बैठक सञ्चालन गर्ने र एमाले अनुकुल बैठक बोलाउने गरेको प्रतिपक्षी दलहरुको आरोप छ ।

निरन्तरको संसद अवरोधका बीच रास्वपाले एमालेले संसद ‘हाइज्याक’ गरेको आरोप लगाएको थियो । सभामुखले सदनमा बोल्न दिने विषयमा पनि एमाले अनुकुल बनेको दलहरुको आरोप छ ।

सदन आफ्नो अनुकुल नभएमा अवरुद्ध गरिहाल्ने, अरुलाई बोल्न नदिने, सामान्य सञ्चालन भएको बैठकमा पनि आफूमात्रै हाबी हुन खोज्ने एमाले शैलीबाट दलहरु आजित छन् । यस्तो शैलीको एमालेसँग सहकार्य वा निकटतालाई दलहरुले प्रश्नमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट