प्रधानमन्त्रीपछि गृहमन्त्रीलाई भेट्न पुगे अमेरिकी राजदूत फेन-Sutra News

प्रधानमन्त्रीपछि गृहमन्त्रीलाई भेट्न पुगे अमेरिकी राजदूत फेन

शुक्रबार, १५ भाद्र २०८०

शुक्रबार, १५ भाद्र २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि अमेरिकाका राजदूत रोब फेनबीच शुक्रबार शिष्‍टाचार भेटघाट भएको छ। गृह मन्त्रालयमा राजदुत फेनलाई स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भाएको सय वर्ष पुगेकोमा गर्व व्यक्त गर्दै राजदुतको कार्यकाल सफलताको शुभकामना दिए ।

त्यसक्रममा राजदूत फेनले समेत मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा आफूलाई गर्व लागेको र दुई देशबिचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्‍भाव रहेको र उक्त सद्‍भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफुहरूको रहेको उनको भनाई थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैं साथ दिएकोमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताए। छ दशकको लामो राजनीतिक संघर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासको माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मुल कार्यभार रहेको उनले बताए ।

यसका लागि नेपालका विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्‍ट्रबाट स्तरोन्‍नती हुने भएकोले यसलाई दिगो बनाउन मैत्रीराष्‍ट्रहरूको सहयोग थप महत्त्वपूर्ण हुने उनले बताए । वर्तमान सरकार सुशासन प्रत्याभूतिका लागि आक्रामक रूपले लागेको पनि उनले स्पष्ट पारे ।

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको बताउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे । सामाजिक न्याय, महिला हिंसा विरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुन्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए ।

उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन आफू र आफ्नो मन्त्रालयबाट सबै सहयोग रहने बताउनुभयो। साथै, गोर्खा सैनिकको मागलाई सम्बोधन गर्दै यस विषयमा न्यायोचित निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । जवाफमा राजदुत फेनले आफू नेपाल आउनु अगाडि बेलायतका लागि नेपाली राजदूतसँग गोर्खा सैनिकका बारेमा बेलायतमा छलफल गरेको र यस विषयलाई चाँडै निष्कर्षमा पुर्‍याउन आफ्नो प्रयास रहने बताए । उपप्रधानमन्त्री श्रेष्ठले राजदूत फेनलाई नेपाली भाषाप्रतिको लगावका लागि धन्यवाद दिंदै थप पोख्त हुन सुभेच्छा दिए ।

यसअघि बुधबार राजदूत फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । एमसीसी कार्यान्वयनको सन्दर्भमा प्रचण्डसँगको उनको छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट