

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ । शुक्रबार माओवादी केन्द्रको विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनैतिक तवरबाट कुरा राख्ने बताएका हुन् ।
चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको उनले बताए ।
“चीनले किन यसो गरेको यसबारे कुटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ”, सापकोटाले भनेका छन्, “चुच्चे नक्सा सम्बन्धमा अघिल्ला सरकारले पनि चीनलाई जारी गराइसको जानकारी दिएका छन् । के कसो भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं ।”
प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदैछन् ।
गत मंगलबार चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेर जारी गरेको थियो । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो । तर, नेपालले जारी गरेको नक्सालाई चीनले भने नयाँ नक्सामा समेटेको छैन ।