

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुंगाउन निर्देशन दिएका छन्।
एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताएका हुन्।
‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिवद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ उनले भने, ‘१९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद नआई सहमतिमा नेतृत्व चयन हुन्छ,’ अध्यक्ष ओलीले भने।
कोही कसैले नेताका नाममा कुरा नगर्न र आफ्नो धारणा र चाहना व्यक्त गर्न आग्रह गरे।
कसैको आशीर्वाद भएर नेतृत्वमा पुग्न नसकिने भन्दै अध्यक्ष ओलीले आफ्नो क्षमताको बलमा नेतृत्व स्थापित गर्न आग्रह गरे।
यतिधेरै पदाधिकारी भएको प्रदेशमा नेतृत्वको लागि छिनाझम्टी नगरी प्रदेशका नेता बसेर नेतृत्व टुंग्याउन निर्देशन दिए।
‘शंकर जी हिडिसक्नुभयो, युवराज जी आउनुभएको छैन, यहाँ रहनुभएका विष्णु जी, प्रदीप जी लगायतका नेताले बसेर टुंगो लगाउनुस् भोलि बिहान म आफैंले नाम वाचन गरेर जानेछु’, ओलीले भने।
अध्यक्ष ओलीले लुम्बिनीबाट सिंगो देशवासी र पार्टी कमिटीलाई नयाँ सन्देश दिनुपर्ने बताए।
अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताए।