

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को ‘फेसबुक स्टाटस’ले अहिले निकै चर्चा पाइरहेको छ । फेसबुक स्टाटसलाई लिएर उनीमाथि सहानुभूतिभन्दा धेरै आलोचना भइरहेको छ ।
यस्तोमा तिव्र आलोचनापछि बालेनले ढिला गरी आफ्नो सन्तान जन्मिएको विषय सार्वजनिक गराएका छन् । उनी निकट ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजले आइतबार बालेन दम्पतीले सन्तान जन्माएको विषय सार्वजनिक गराएको हो ।
सन्तान जन्माएको विषय बाहिरिएपछि सुत्केरी व्यथाले च्यापेको अवस्थामा साह पत्नी चढेको गाडीलाई ट्राफिकले रोकेको भन्दै सरकार र प्रहरीको आलोचना भएको थियो । बालेननिकट केही सञ्चार माध्यमले उक्त विषयलाई जोड्दै अन्य सञ्चारमाध्यममाथि प्रश्न उठाएका थिए ।
तर, बालेन दम्पतीले नौ दिनअघि नै भदौ ८ मा सन्तान जन्माएको विषय पुष्टि भएको छ । मेडिसिटी अस्पतालका अनुसार बालेन पत्नी सविना काफ्लेले भदौ ८ मा छोरी जन्माएकी थिइन् । अस्पतालले भदौ ११ मा उनलाई डिस्चार्ज गरेको थियो ।
बच्चाको स्वास्थ्य भने अझै सुधारको क्रममा रहेकोले नवजात शिशुहरुको उपचार कक्ष (एनआइसियू)मा उपचार भइरहेको छ । बच्चालाई भेट्न बालेन पत्नि अस्पताल आउजाउ गरिरहेको बुझिएको छ ।
शनिबार राति पनि उनी अस्पतालबाट सिनामंगल आउँदै गर्दा कोटेश्वरमा प्रहरीको नियमित चेकजाँचमा परेकी थिइन् । सामान्य चेकजाँच गरेको विषयमा आक्रोशित भएर बालेनले ‘सिंहदरबारमा आगो लगाइदिन्छु, चोर सरकार’ भन्दै फेसबुक स्टाटस लेखेका थिए ।
सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन पास अनिवार्य आवश्यक छ । तर, बालेनकी श्रीमतिले पासबिनै सरकारी गाडी लिएर हिँडेकी थिइन् ।