

काठमाडौँ। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वका लागि सहमति हुन नसकेपछि निर्वाचन हुने भएको छ।
शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो।
नेतृत्वका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरि रिजालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्। कँडेलले आफैं उम्मेदवारी दर्ता गराएका छन् भने रिजालले वारेसनामा मार्फत् गराएका हुन्।
कँडेलले राजु श्रेष्ठको प्रस्तावक र भोजराज पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै रिजाललाई विजय विराज विष्ट प्रस्तावक र बालसिंह काउछाले समर्थन गरेका छन्।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रलाई सम्बोधन गर्दै सहमति गर्न आग्रह गरे पनि अध्यक्षका आकांक्षीहरू कँडेल र रिजालले सहमति गर्न नमानेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्था आएको हो।
प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार राती ८ बजेदेखि निर्वाचन प्रक्रियाको काम स्थगित गरी सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको जानकारी दिए।