बालेनलाई काठमाडौं जिल्ला प्रशासनले भन्यो– जथाभावी वक्तव्यबाजी नगर्नु-Sutra News

बालेनलाई काठमाडौं जिल्ला प्रशासनले भन्यो– जथाभावी वक्तव्यबाजी नगर्नु

सोमबार, १८ भाद्र २०८०

सोमबार, १८ भाद्र २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई जथाभावी वक्तव्यबाजी नगर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले ध्यानकर्षण गराएको छ । ट्राफिक प्रहरीमाथि लक्षित गर्दै बालेनले वक्तव्य जारी गरेपछि काठमाडौं प्रशासनले विज्ञप्ति जारी गर्दै यस्तो भनेको हो ।

“सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठद्वार जारी विज्ञप्तिमा छ, “यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुऱ्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभाव वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।”

काठमाडौ‌ं जिल्‍ला प्रशासन कार्यालयले बिदाको दिन पास बिना सरकारी गाडी चलाउन नपाइने पनि स्पष्ट पारेको छ । मेयर साहकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले जाँच गर्दा मेयर साहले अराजक अभिव्यक्ति दिएका थिए ।

सोहीतर्फ इंगित गर्दै प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य भइरहेको बताएको छ ।

“सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएको अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था छ। यसबाट निजी काममा सरकारी सवारीसाधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ”, विज्ञप्तिमा भनिएको छ।

कानुनविपरित हुने जुनसुकै गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेको भन्दै कानुनविपरितका कार्य नगर्न पनि मेयर साहलाई सचेत गराएको छ ।

“कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभुत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध छ। यस कार्यमा अहोरात्र क्रियाशील निकाय तथा सम्बद्ध राष्ट्रसेवकलाई साथ, सहयोग र हौसला प्रदान गर्न आम नागरिक समक्ष हार्दिक आग्रह गरिन्‍छ”, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट