काठमाडाैं । सर्वोच्च अदालतको परमादेशपछि नेकपा (एमाले)काे संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्ति गर्दै आज साँझसम्म शपथग्रहण गर्ने तयारी गरेकाे हाे ।
बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेशअनुसार पत्र प्राप्त भएसँगै प्रदेश प्रमुखकाे कार्यालयले तयारी थालेकाे हाे ।
मुख्यमन्त्रीको शपथ ग्रहणसँगै आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी भएको बुझिएकाे छ । एमाले नेताहरूले बताएअनुसार तीलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको छ । मेन्याङ्बो यसअघि नै कार्की नेतृत्वको सरकारमा समेत मन्त्री थिए ।
गत पुसमा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि विश्वासको मत पाउन सकेका थिएनन् । त्यसपछि नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भए पनि उनको नियुक्ति सर्वोच्च अदालतले दुई पटक बदर गरिसकेकाे छ ।