काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको उम्मेदवार छान्ने प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित महिला संघले राखेको कार्यक्रममा बोल्दै उनले वडाको सभापति छान्ने अधिकार पार्टीले दिएपनि त्यही वडाको अध्यक्षको उम्मेदवार छान्ने अधिकार भने नदिएको बताए।
पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने उनको भनाई छ । अहिलेको टिकट वितरण प्रणालीले असन्तुष्टि बढाएको थापाले बताए ।
सबै अधिकार जब दाइलाई दिनुहुन्छ भने दाइले टिकट भाउजुलाई नै दिने अवस्था बन्ने थापाले बताए । दाइले भाउजुलाई टिकट दिने अवस्था नबन्नका लागि तल्लो तहलाई नै आफ्ना उम्मेदवार बनाउने अधिकार दिनुपर्ने थापाको तर्क छ ।
“अन्तिममा गएर टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले भाउजुलाई नै टिकट दिन्छ”, उनले भने, “कुनै क्षेत्रको टिकट बाँड्ने माथि बस्ने दाइले होइन । त्यहीँका पार्टी सदस्यहरुले मतदान गरेर छान्नुपर्दछ ।”
आगामी महाधिवेशनबाट टिकट वितरणमा देखिएको गलत परिपाटीलाई हटाउने उनको भनाई छ ।