सर्वदलीय बैठक : प्रधानमन्त्रीलाई के सुझाब दिए दलहरुले ?-Sutra News

सर्वदलीय बैठक : प्रधानमन्त्रीलाई के सुझाब दिए दलहरुले ?

आइतबार, २४ भाद्र २०८०

आइतबार, २४ भाद्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलहरुसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, पूर्वपरराष्ट्रमन्त्रीहरुलगायतसँग प्रधानमन्त्रीले छलफल गरेका थिए ।



छलफलमा नेताहरुले भ्रमणका बेला प्रधानमन्त्रीले राख्नुपर्ने प्रस्ताव, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरुका बारेमा सुझाब दिएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउने विषयमा नेताहरुबीच सहमति भएको बताए ।

“प्रधानमन्त्रीज्यूले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको हो त्यस क्रममा अहिलेको अवस्थामा संयुक्त राष्ट्रसंघमा र चीन भ्रमणका बेलासमेत ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्वप्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको छ”, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, “प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउने विषयमा सबै राजनीतिक दलहरूको बीचमा सहमति भएको छ ।”

छलफलमा विशेषगरी नेताहरुले चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको विषयमा कुरा उठाउन सुझाब दिएका छन् । चीनसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे पनि छलफल गर्न सुझाएका छन् ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्र मन्त्री एनपी साउद, नेताहरू महन्त ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा. बिमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट