राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, अन्त्येष्टिका दिन सार्वजनिक बिदा-Sutra News

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

मंगलबार, २६ भाद्र २०८०

काठमाडौं । सरकारले राजकीय सम्मानका साथ दिवगंत नेता सुवास नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हाे ।

उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरिएकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।

तथापी, नेम्वाङको अन्त्येष्टी कहिले हुन्छ यकिन छैन । नेम्वाङको छोराहरु विदेश भएको कारण फर्किएपछि मात्रै अन्त्येष्टी हुने र अन्त्येष्टीकै दिन सार्वजनिक बिदा हुने मन्त्री किराँतीले जानकारी दिए ।

नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतमा छन् भने कान्छा छोरा कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियामा छन् । उनका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान निधन भएकाे थियाे ।

हृदयघातका भएपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा उनकाे निधनकाे भएकाे थियाे ।

वि.सं. २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए । वि.सं. २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए ।

नेम्वाङ २०६२/६३ काे जनआन्दोलनसँगै पुनःस्थापित संसद्का सभामुख भएका थिए ।

पहिलाे संविधान सभा निर्वाचन २०६४ र दाेस्राे संविधान सभा निर्वाचन २०७० मा इलामबाट चुनाव जितेर उनी संविधानसभाको अध्यक्ष भएका थिए । नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । संविधानसभाबाट संविधान निर्माण र जारी गर्न नेम्वाङकाे निकै महत्वपूर्ण याेगदान रहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
      सम्बन्धित समाचार

      ताजा अपडेट