एसिया कपको फाइनल भिडन्तमा भारत र श्रीलंकाको भेट पक्का-Sutra News

एसिया कपको फाइनल भिडन्तमा भारत र श्रीलंकाको भेट पक्का

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडौँ। एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र श्रीलंका भिड्ने पक्का भएको छ। श्रीलंकाले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई हराएसँगै फाइनल खेल पक्का गरेको हो। श्रीलंकामाथि दुई विकेटको रोमान्चक जित निकाल्दै श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो।

श्रीलंकाले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिनेछ।

वर्षाका प्रभावित खेल ४२ ओभरमा घटाइएको थियो। पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो।

जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

श्रीलंकाका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गर्दै खेललाई जिततर्फ दौडाहे । उनले केवल ८७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । सदिरा सामराबिक्रमाले पनि टोलीका लागि ४८ रनको योगदान गरे । उनले ५१ बलमा चार चौका प्रहार गरे । यी दुई ब्याट्सम्यानले एक सय रनको साझेदारी गरेका थिए ।

श्रीलङ्काको जितमा चरिथ असालंका नायक बने । उनले अविजित ४९ रन बनाए । उनले ४७ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । ओपनर पाथुम निसानकाले २९ रन बनाए । अर्का ओपनर कुशल परेरा पनि १७ रनमै पेभेलियन फर्किएका थिए ।

कप्तान दुसान सानका भने दुई रनमै आउट भए । धनन्जय डा सिल्भा पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी पाँच रन बनाउँदै पेभेलियन फर्किए । दुनिथ वेल्लालागे ‘डक आउट’ भए । प्रमोद मदुसन पनि एक रन बनाउँदै पेभेलियन फर्किए । पाकिस्तानी बलर इफ्तिखार अहमदले तीन र साहिन शाह अफरिदीले दुई विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निर्णय लिएको पाकिस्तानले पालीको खराब सुरुआत गरेको थियो । पाकिस्तानले नौ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान फाखर जामन चार रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

अर्का ओपनर अब्दुल्लाह सफिकले भने टोलीका लागि ५२ रनको योगदान गरेका थिए । उनले ६९ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । पाकिस्तानको पाली भने चौथो नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले समालेका थिए ।

विकेटकिपर ब्याट्सम्यान रिजवानले टोलीका लागि अविजित ८६ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएको रिजवानले केवल ७३ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काए । रिजवान र इफ्तिखार अहमदले टोलीका लागि एक सय आठ रनको साझेदारी गरे ।

इफ्तिखार अहमले ४०।३ ओभरमा आउट हुनुअघि ४७ रन बनाए । उनले केवल ४० बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काएका थिए । त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान बाबर आजमले टोलीको खातामा २९ रन थपेका थिए ।

कप्तान आजमले ३५ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । मोहम्मद नवाजले १२ बलमा दुई चौकाको मद्दतले १२ रन बनाए । मोहम्मद ह्यारिस तीन रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानले अतिरिक्त रुपमा १५ रन पाएको थियो ।

सदाब खान पनि तीन रनमा आउट भए । साहिन शाह अफरिदी एक रनमा अविजित रहे । श्रीलङ्काली टोलीका बलर मथिसा पाथिरानाले तीन विकेट लिए । प्रमोद मदुसनले पनि दुई विकेट हात पारे । महिस थिकसना र दुनिथ वेल्लालागेले एक—एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट