काठमाडौं । नयाँ कार्यविभाजनले नेकपा (एकीकृत समाजवादी)भित्र विवाद निम्तिएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको ६६औं बैठकले नेताहरुको नयाँ कार्यविभाजन गरेको थियो । नेताहरुको नयाँ कार्यविभाजन गरिएको बारे बिहीबार अध्यक्ष माधवकुमार नेपालले ११औं अन्तरपार्टी निर्देशन जारी गरेका थिए ।
पार्टी बैठकले गर्दै नगरेको निर्णय पनि अपानिमार्फत जारी गराएको भन्दै एकीकृत समाजवादीभित्र असन्तुष्टि विवाद देखिएको छ । विशेषगरी सम्मानित नेता झलनाथ खनाल पक्षधरले अपानिप्रति असन्तुष्टि जनाएका छन् ।
अपानि जारीसँगै एकीकृत समाजवादीभित्र पार्टी छाड्ने क्रम पनि देखिएको छ । पार्टीका दुई जिम्मेवार केन्द्रीय नेताले अपानि जारीलगत्तै पार्टी परित्यागको घोषणा गरेका छन् । लुम्बिनी प्रदेशको समेत सचिव रहेका केन्द्रीय सदस्य राजु गरुङ र दैलेखको सहइन्चार्जसमेत रहेकी केन्द्रीय नेतृ सावित्रि मल्लले पार्टी छाडेको घोषणा गरेका छन् । बिहीबार अपानी जारी लगत्तै दुवै जनाले सामाजिक सञ्जालमार्फत नै पार्टी प्रतित्यागको घोषणा गरेका थिए ।
दुवै जनाले सक्रिय राजनीतिबाट बाहिरिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत दुवैले घुमाउरो ढंगले कार्यविभाजनको विरोध जनाएका छन् । जारी अपानिअनुसार गुरुङलाई रुपन्देही इन्चार्जको जिम्मेवारी दिइएको थियो भने मल्लको जिम्मेवारीमा कमी गराइएको थियो ।
पार्टी छाडेको बताएपनि दुवै जनाबारे एमाले फर्किने तयारी गरिरहेको चर्चा चलेको छ । तथापी, उनीहरुले निर्णय भने लिइसकेका छैनन् ।
कतिपयले जारी अपानिको निर्णयलाई इंगित गर्दै एकीकृत समाजवादीभित्र अर्को ‘केपी ओली’ जन्मिएको पनि संज्ञा दिएका छन् । खनालनिकट एक नेताले अपानि नसच्चिएमा पार्टीभित्र ठूलो विग्रह हुनसक्ने बताए ।
“बैठकले एकातिर निर्णय गर्ने, अपानि अर्कोतिर जारी गर्ने, यो पुरै ‘केपी ओली’ शैली भएको छ, हामीले एमालेमा जुन शैलीको विरोध गर्यौं, यता आएपछि पनि त्यही शैलीलाई प्रश्रय दिनपर्ने अवस्था बन्यो”, उनले भनेका छन्, “यो सच्चिन्छ, सच्चिनुपर्छ, नसच्चिए, पार्टीका निम्ति दुर्भाग्य हुन्छ ।”