चार वाणिज्य बैंकले गरे लाभांश वितरणको प्रस्ताव, कुनको कति ?-Sutra News

चार वाणिज्य बैंकले गरे लाभांश वितरणको प्रस्ताव, कुनको कति ?

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट चार वाणिज्य बैंकले लाभांश वितरणको प्रस्ताव गरेका छन् । १९ वाणिज्य बैंकमध्ये शुक्रबारसम्म माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआइसी एशिया बैंकले लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत भदौ १३ मा बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यस्तै, एभरेष्ट बैंकले पनि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २७ मा बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एभरेष्टले १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सानिमा बैंकले पनि शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । भदौ २८ मा बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १४.७० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा ९ प्रतिशत बोनस शेयर छ भने ५.७ प्रतिशत नगद लाभांश छ ।

यस्तै, एनआईसी एशिया बैंकको भदौ २९ मा बसेको सञ्चालक समितिको बैठकले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । दुई आर्थिक शेयरधनीको हात खाली गराएको बैंकले यसपटक ३०.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले २९ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद गरी कुल ३०.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

लाभांश वितरणको प्रस्ताव गरेका बैंकमध्ये माछापुच्छ्रे बैंकले ‘बुक क्लोज’को मिति तय गर्दै साधारण सभा बोलाएको छ भने अन्य बैंकले भने बुक क्लोजको मिति तय गरेका छैनन् । माछापुच्छ्रे बैंकको असोज ७ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने छन् । माछापुच्छ्रेले असोज १८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकहरुले लाभांश वितरण गर्न गरेको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपश्चात आगामी साधारणसभाले पारित गरेसँगै शेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट