गैह्रीगाउँ हत्या प्रकरण : हत्या आशंकामा एक पक्राउ, राति सबैले मदिरा पिएको पुष्टि-Sutra News

गैह्रीगाउँ हत्या प्रकरण : हत्या आशंकामा एक पक्राउ, राति सबैले मदिरा पिएको पुष्टि

शनिबार, ३० भाद्र २०८०

काठमाडौँ। काठमाडौंको गैह्रीगाउँमा भएको चार जनाको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटनास्थलबाट सोधपुछको लागि काठमाडौं ३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले मदिरा सेवन गरेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए । राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

तर, घटनास्थलमा मदिरा सेवन गरेको प्रमाण भने फेला नपरेको उनले बताए । ‘पक्राउ परेका व्यक्ति अहिलेसम्म पनि मदिराले लट्ठ छन्,’ उनले भने, ‘राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्छ । तर, घटनास्थलमा मदिराका बोत्तल भने फेला परेका छैनन् ।’

गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको थियो । काठमिलभित्र उनीहरूको हत्या गरिएको अवस्थामा फेला परेको हो ।

दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । यस्तै मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको पनि हत्या भएको छ ।

उनीहरूको शव परीक्षणका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ ।

घटनाको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।

काठमाडौंको गैह्रीगाउँमा चारजनाको हत्या

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट