

काठमाडौं । अघिल्लो कार्यकालकी राष्ट्रपति विद्यादेवी भण्डारी कामभन्दा बढी आलोचित भएर कार्यकाल सकाइन् । संसद् विघटनदेखि शितलनिवासबाटै पार्टी चलाएको गम्भीर आरोप खेप्दै उनी राष्ट्रपति पदबाट बाहिरिन् । संसद् विघटन गरेर होस् वा अन्य कुनै कारण, विधेयक प्रमाणीकरण गरेर होस् वा प्रमाणीकरण नगरी म्याद गुजारेर होस् भण्डारी व्यापक आलोचित र अलोप्रिय बनेर पदबाट बाहिरिन् । त्यसपछि राष्ट्रपति बनेका रामचन्द्र पौडेल खास आलोचित बन्न चाहिरहेका छन् । तर पनि उनलाई आलोचनाले भने पछ्याइरहेकै छ ।
उपचारका खर्चको विषयले होस् वा कैदीलाई आम माफी दिएको विषय होस् वा नागरिकता विधेयक प्रमाणीकरण गरेको विषय होस् पौडेललाई नराम्रोसँग गलाउने विषय बने । तथापी, सादगी शैलीले भने उनी सहानुभूति बटुल्न सफल रहे । सयौं सेना र प्रहरी अघिपछि लगाएर जाम गराउँदै सवारी नगराएकामा उनीप्रति कुनै आलोचना छैन ।
यसअघिकी राष्ट्रपति भण्डारीले सवारीका नाममा सडक जाम बनाएर नागरिकलाई निकै सास्ती दिएकी थिइन् । पछिल्लो समय भने राष्ट्रपति पौडेल यस्ता विषयमा केही सजग देखिन्छन् । साथै, उनले विभिन्न राष्ट्रिय महत्वका विषयमा सर्वपक्षीय छलफल गर्ने र सरकारलाई जवाफ माग्ने काम पनि गरिरहेका छन् ।
पौडेल यसअघि रेशम चौधरीलाई आम माफी दिएको विषयमा अति नै आलोचित बने । कैलालीको टीकापुर हत्याकाण्डका मुख्ययोजनाकार चौधरीलाई रिहा गरेकोमा भने राष्ट्रपतिलाई आलोचित भए ।
राजनीतिक दबाबमा परेर राष्ट्रपतिले रिहा गरेको भन्दै अनेक प्रश्न खडा भए । अहिले भने राष्ट्रपति केही सचेत देखिएका छन् । संविधान दिवसको अवसरमा गृह मन्त्रालयले सिफारिस गरेका आममाफीका बारेमा राष्ट्रपति पौडेलले स्पष्टीकरण माग गरेका छन् ।
गृहले केही दिनअघि ३४ जनालाई आममाफी दिन राष्ट्रपति कार्यालयका निवेदन पेस गरेको थियो । तर ती आममाफी दिने कैदीका बारेमा पूरा विवरण पठाउन राष्ट्रपतिले गृहलाई अनुरोध गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार विधि पूरा नभएको वा नभएको भन्ने विषयमा जानकारी गराउन अनुरोध गरिएको हो ।
राष्ट्रपतिनिकट स्रोतका अनुसार अहिले गृहबाट सिफारिस कैदीका बारेमा पनि मापदण्ड नपुगेको देखिएको छ । करिब आधा कैद जेलमै भुक्तान गरेकालाई वा नैतिकरुपमा सुधार भएको हुनुपर्ने हुन्छ । तर राजनीतिक दबावमा कर्तव्य ज्यान मुद्दा, तस्करी वा सहकारी ठगीमा कैद भुक्तान गरिरहेकालाई गृहले कैद मिनाह गर्न सिफारिस गरेको छ । यही कारण राष्ट्रपतिले स्पष्टीकरण नआएमा कैद मिनाह नगर्ने जनाएका छन् ।
यसअघिकी राष्ट्रपति भण्डारी पनि कैद मिनाह प्रकरणमा सधैँ आलोचित हुने गरेकी थिइन् । एमाले निकट नेता कार्यकर्तालाई मिनाह गरेको भन्दै उनीमाथि अनेक प्रश्न जोडिने गरेका थिए । अहिलेका राष्ट्रपति पौडेल भने सोही आलोचनाबाट बाहिर आउन चाहेका छन् ।