

काठमाडौं । माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दीपशिखा यतिबेला दक्षिण कोरियामा छन् । गत अगष्ट १० मा नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन गएका उनी कोरिया सरकारको भन्सार विभागले रोकिदिएपछि नेपाल फर्किन पाएका छैनन् ।
कोरियाको भन्सार विभागले उनले लगेको औषधिलाई शंकास्पद मान्दै नेपाल फर्किन रोक लगाएको हो । जसबारे दीपशिखाले डकुमेन्ट बुझाउने प्रक्रिया सुरु गरिएको भन्दै छिट्टै समस्या समाधान हुने बताएका छन् । आफू समातिएको बारे विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो जनाएका हुन् ।
उनका अनुसार कोरियाका लागि नेपालका राजदूत ज्योति प्याकुरेलको आग्रहमा उनले केही औषधी लगेका थिए । तर, चिकित्सकको प्रिस्किप्सन बिना औषधी लगेपछि उनलाई भन्सार विभागले अनुसन्धानमा तानेको हो ।
राजदूतावासले जसबारे प्रक्रिया सुरु गरिसकेको र आफू छिट्टै नेपाल फर्किने पनि उनले बताएका छन् ।
यस्ताे छ सामाजिक सञ्जालमा दीपशिखाकाे स्टाटस
नमस्कार !
म गत अगस्ट १० तारिखमा कोरियाको नेपालि जनप्रगतिशिल मन्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहीम राजदुत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिए ।
अन्जानबस डाक्टरको प्रिस्किप्सन म सॅग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदुताबासले मागेका डकुमेन्टहरू बुझाईसकेको छ ।
भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केहिपनि होइन ।
नियतबस कुनै कमजोरी नगरेको कारण चॅाडै नेपाल फर्कनेमा विस्वस्त छु । आफ्नै देशको विमार राजदुतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पिडित मलाई थप पिडा नदिनुहुन नेपालि मिडिया, सामाजिक संजालका साथिहरूमा अपिल गर्दछु ।