काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताए।
नेम्वाङको सोही राष्ट्रवादी सोचका कारण नेम्वाङमा देशप्रतिको असाधारण निष्ठा रहको अध्यक्ष ओलीको भनाइ छ।
मंगलबार एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेम्वाङको लामो राजनीतिक इतिहासमा कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदम नचालेको भन्दै उनबाट नेपाली राजनीतिले धेरै कुरा सिक्नुपर्ने बताए।
अध्यक्ष ओलीले भन्छन्, ‘उहाँ वेइमान हुनुभएन, उहाँ देशप्रति असाधारण निष्ठा थियो। देशहित विपरीतका कहिल्यै कुनै कदम चाल्नुभएन । असामूहिक, असान्दर्भिक र स्वार्थी कदमहरु कहिल्यै चाल्दै चाल्नुभएन।’
अध्यक्ष ओलीले सुवास नेम्वाङको निधन भएको अझै पत्यार नलागेको बताए। उनले भने, ‘उहाँको स्मृतिमा बोल्नुपर्दा अनौठो लागिरहेको छ। अझै पत्यार नभएको जस्तो स्थिति भएको छ।’
लोकतान्त्रिक आन्दोलन, संसदीय भूमिका, संविधान निर्माण लगायतका प्रश्नमा नेम्वाङको भूमिका उच्च रहेको बताए।