काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन् ।
मङ्गलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले राष्ट्र निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताए। उनले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रूपमा मानेको नेता भएको जानकारी दिए।
उनले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको स्मरण गरे। उनले प्रतीकसहितको गणेशमान पार्कले उनको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउने विश्वास लिएको बताए।
राष्ट्रपति पौडेलले गणेशमानको साथ र सामीप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गरे। उनले गणेशमानको सामीप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताए।