

काठमाडौं । सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । बुधबार नेपाल शिक्षक महासंघको आव्हानमा शिक्षकहरुले केन्द्रीय राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् ।
शिक्षकहरुले विधेयकमाथि विभिन्न १८ वटा असहमति राखेका छन् । जसमा सरुवा, बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नरहनेलगायतका छन् । शिक्षकहरुले ती मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
बुधबार शिक्षकहरुको आन्दोलनको कारण काठमाडौंको यातायात अस्तव्यस्त बनेको छ । आन्दोलनका लागि देशभैरबाट शिक्षकहरु काठमाडौं आएका छन् । शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने र काठमाडौं नछाड्ने पनि बताएका छन् ।
यसअघि मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा आउन शिक्षकहरुलाई आव्हान गरेको थियो । तर, महासंघले भने वार्तामा सहभागी नभई मंगलबार नै केन्द्रीय समितिको बैठक राखेर सडक आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो ।
सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । जससँगै क्रमशः विरोधहरु सुरु हुन थालेको छ ।