

काठमाडौं । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजायँ पाएका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाल रिहा भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले उनलाई आममाफी दिएका हुन् ।
ढकालले नेपालगन्जको सुर्खेतरोडमा स्थानीय युवा चेतन मानन्धरलाई दिनदहाडै खुँडा हानेर हत्या गरेका थिए । २०७२ असार २८ मा मानन्धरलाई हत्या गरेको अभियोगमा उनलाई जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्मकैदको सजायँ सुनाएको थियो ।
तर, अदालतले फैसला गरेको सजायँको ४० प्रतिशत मात्रै सजायँ काटेका उनलाई नेपाली कांग्रेसको दबाबमा संविधान दिवसको दिन राष्ट्रपतिले आममाफी दिएका हुन् । राष्ट्रपतिले आममाफी दिएसँगै दाङ कारागारमा विगत ८ वर्षदेखि सजायँ भोगिरहेका ढकाल बुधबार छुटेका छन् ।
जेल जानुपूर्व ढकाल कांग्रेसको भातृ संगठन तरुण दलका क्षेत्रीय सभापतिसमेत थिए ।
राष्ट्रपतिबाट आममाफी दिइएको पत्र प्रशासनमा पुगेसँगै ढकालको स्वागतमा दर्जनौं गाडीसहित कांग्रेसका युवाहरु दाङ कारागार पुगेका थिए । कांग्रेसका युवाहरुले ढकालको भव्य स्वागत गरेका थिए ।
जेलबाट छुटेपछि दुई दर्जनभन्दा बढी गाडीको स्कर्टिङमा उनलाई दाङबाट नेपालगन्ज पुर्याइएको थियो । गुन्डा नाइकेको आममाफीमा गरिएको स्वागतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
नोट : यसअघि तस्बिरमा अन्यथा हुन गएकोमा सच्याइएको छ । स.