

काठमाडाैं । मधेशी आयोगले मलंगवा घटनामाथि अध्ययनका लागि टाेली पठाएकाे छ । आइतबार आयाेगले घटनाबारे अध्ययन गर्न अनुगमन टाेलीलाई सर्लाहीकाे मलंगवा पठाएकाे हाे ।
गत शुक्रबार गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा मलंगवामा झडप भएको थियाे । जुन झडपपछि साम्प्रदायिक खालकाे द्वन्दकाे अवस्था मलंगवामा देखिएकाे थियाे ।
मधेशी आयोगले कानुन विपरित कार्य गर्ने जो-कोहीलाई पनि कानुनी दायराभित्र यथाशिघ्र ल्याउन स्थानीय प्रशासनलाई सचेत गराएको छ । आयोगले सो घटनामा घाइते भएकाहरुको उपचारको लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ । आयोगले अनुगमन टोलीलाई सबै सरोकारवालाहरुले आवश्यक सहयोग गरिदिन समेत आग्रह गरेको छ |
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता साम्प्रदायिक घटनाहरु प्रति आयोग गम्भीर रहेको बताउँदै यस्ता घटनाहरुका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय-समयमा स्थानीय प्रशासनलाई निर्देशन दिएको तथा संघीय, प्रदेश तथा स्थानीय सरकारलाई सचेत समेत गराइएको बताएका छन् ।