बलात्कार मुद्दाले थाके सन्दीप लामिछाने, आउँदो प्रतियोगिता नै नखेल्ने-Sutra News

बलात्कार मुद्दाले थाके सन्दीप लामिछाने, आउँदो प्रतियोगिता नै नखेल्ने

सोमबार, ८ असोज २०८०

सोमबार, ८ असोज २०८०

काठमाडौं।  क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका छन् ।



जिल्ला अदालतमा विचाराधीन मुद्दामा फैसला पेसी नै १७ पटक सरिसकेको छ । पछिल्लो दुईवटा पेसी ‘न्यायाधीश अभाव’ का कारण देखाउँदै स्थगित भए ।

यो मुद्दाको फैसला आफ्नो भागमा नपरोस् भनेर न्यायाधीशहरू भागाभाग गरिरहेका छन् । उनको पेसीको दिन न्यायाधीशहरू अदालत आउनसमेत डराउन थालेको स्रोतहरू बताउँछन् ।

हरेकपटक नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता आउँदा सन्दीपलाई मुद्दाले दुस्ख दिने गर्छ । उनी टीमसँग विदेश उड्न पाइरहेका छैनन् । अदालतले सन्दीपलाई क्रिकेट खेल्न कुनै रोकटोक गरेको छैन । विदेश जान पनि अनुमति छ ।

सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको थियो ।

नेपाली क्रिकेट टीम एसियन्स गेम्स खेल्न अस्ति चीनतर्फ प्रस्थान गर्‍यो । तर, सन्दीप नेपालमै छन् । नेपाली टीम चीन जाने भोलिपल्ट अर्थात् हिजो उनको पेसी थियो । तर, कुनै पनि न्यायाधीशले उनको मुद्दाको गोला नतानेको भन्दै सुनुवाइ स्थगित भएको छ ।

मुद्दा स्थगत भएपछि क्यानले आज उनलाई चीन पठाउने तयारी गरेको थियो । टिकट पनि काटिएको थियो । तर, सन्दीप आज नजाने भएका छन् । हिजो उनले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग भेटेर आफू खेल्नसक्ने अवस्थामा नरहेको बताएका थिए ।

तर उनले मानसिक रूपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् । सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।

क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौँमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट