

काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘डी’ को नेपालले लगातार दोस्रो पराजय व्यहोरेको हो । पहिलो खेलमा नेपाल भियतनामसँग २-० ले पराजित भएको थियो ।
विनझाउ स्पोर्टस सेन्टर रंगशालामा जारी खेलको तेस्रो मिनेटमै युजुहो सिओकोशीको गोलमार्फत जपानले अग्रता लिएको थियो । १० मिनेटपछि युजुकी यामामाटोले टोलीको अग्रता दोब्बर बनाइन् ।
२७ औं मिनेटमा मेमी युनोले जापानका लागि तेस्रो गोल गरिन् । तीन मिनेटपछि नै रेइना वाकिसाकाले गोल गर्दा जापान ४-० ले अगाडि बढ्यो ।
३६ औं मिनेटमा हाकुरा ओसावाले गोल गरेपछि जापानले पहिलो हाफमै ५-० को फराकिलो अग्रता लियो । ५८ औं मिनेटमा कोटोनो साकाकीबराले टोलीका लागि छैटौं गोल गरिन् ।
७४ औं मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दा जापान ७-० ले अगाडि बढ्यो । इन्जुरी समयमा माया हाजिकाताले गोल गर्दै जापानलाई ८-० को फराकिलो जित दिलाइन् ।
नेपालले पहिलो पटक जापानको सामना गरेको हो । जपानले पहिलो खेलमा बंगलादेशलाई ८-० ले पराजित गरेको थियो ।
नेपालले तेस्रो तथा अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।