अन्ततः पछि हटे बालेन, चौतर्फी विरोधपछि बनाए वार्ता टोली-Sutra News

अन्ततः पछि हटे बालेन, चौतर्फी विरोधपछि बनाए वार्ता टोली

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले अभियन्ता ईःसँग वार्ता गर्न वार्ता टोली बनाएका छन् । ईःसँग वार्ता गर्न बालेनले मंगलबार महानगरपालिका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएका हुन् ।



मानन्धरको नेतृत्वमा वार्ता टोली बनाइए पनि अन्य सदस्यको विषयमा भने निर्णय भइसकेको छैन । “मेरो नेतृत्वमा वार्ता टोली बनाउने प्रस्ताव भएको छ”, मानन्धरले भनेका छन्, “सदस्यहरुको नाम टुंगीएको छ, आजै टुंग्याएर अभियन्ता ईःसँग वार्ता हुन्छ ।”

मंगलबार बिहान मात्रै उपमेयर सुनिता डंगोलले अभियन्ता ईःलाई भेटेकी थिइन् । उनले व्यवसायीहरुको मागका सम्बन्धमा पहल गर्ने बताएकी थिइन् । तथापी, उनी आफैंले भने आफ्नो भूमिका सीमित रहेको भन्दै गुनासो पोखेकी थिइन् ।

फुटपाथ व्यवसायीमाथि काठमाडौं महानगरपालिकाले अमानवीय व्यवहार गर्दै हटाएको विरोधमा अभियन्ता ईः एक सातादेखि काठमाडौं महानगरको गेटमा उभिएर विरोधमा छन् । शान्तीपूर्णंरुपमा उनले गरेको विरोधलाई मेयर बालेनले भने राजनीतिकरुपमा अभिप्रेरित भएको भन्दै आलोचना गरिरहेका छन् ।

यसअघि मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए। “विगत केही दिन देखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियानताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन। लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सयाद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने”, ईःबारे बालेनले भनेका छन् ।

तथापी, मेयर बालेनले भनेअनुसार वार्ताका लागि नबोलाइएको अभियन्ता ईःले बताएका छन् । आफूहरुमाथि अभद्र शैली नगर प्रहरी खटाएर पार्किङमा वार्तामा बस्न भनिएको अभियन्ता ईःको भनाई छ ।

“मेयर यहाँ आउनुभएको होइन, सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्, करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए, हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं, नगर प्रहरीले रिसाएर जवाफ दिए – त्यसोभए मेयरले भेट्दैन”, उनले भनेका छन् ।

अभियन्ता ईःले कुनै समय बालेनकै पक्षमा मत माग्दै अभियान चलाएका थिए । तर, पछिल्लो समय आउँदो बालेनले विगतका बाचा बिर्सेको भन्दै उनी स्वयम् बालेनको विरुद्धमा अभियानमा छन् । पछिल्लो वार्ता टोली पनि चौतर्फी दबाब र विरोधपछि गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट