

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमलाई पुरानै मूल्य कायम गराउन निर्देशन गरेको हो ।
निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढेको मूल्य रोकेर साविककै मूल्य कायम गर्न आयल निगमलाई निर्देशन दिएको बताएकी छन्। सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने उनले बताइन् ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले स्वचालित प्रणालीअनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ र हवाइ इन्धन प्रतिलिटर ८ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
चाडपर्वको मुखमा मूल्यबृद्धिको निर्णय गरिएसँगै सरकारको चौतर्फी आलोचना भएको थियो ।