

काठमाडौं । नेसनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीसहित नौ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको ठहरसहित पौडेल र मरासिनीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले उक्त प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायकलाई प्रतिवादी कायम गरेको छ ।
६ वर्ष अघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी पेमेन्ट गेटवे प्रणाली खरिद गरी सरकारको सम्पती गैरकानूनी तवरले हानी नोक्सानी गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिदका लागि अर्थसचिव रहेको बेला मरासिनीले २५ करोड बजेट निकासी गरिदिएका थिए ।